एल.पी ग्याँस भनेको के हो ?
खाना पकाउने ईन्धनको रुपमा नेपालमा विभिन्न कंम्पनीहरुले रातो र निलो रङ्गको सिलिण्डरमा भरेर पठाईएको Liquefied Petroleum Gas लाई नै हामी ग्याँस भन्छै, जुन तरल रुपमा हुन्छ । एल.पी ग्याँस सिलिण्डरमा ८५ प्रतिशत तरल पदार्थ हुन्छ । ग्याँसको लागि १५ प्रतिशत स्थान खाली हुन्छ ।
भान्सामा खाना पकाउन प्रयोग गरिने यो ग्याँस अहिले धेरै नेपालीहरुको घर–घरमा पुगेको छ । यो ग्याँसको प्रयोग सम्बन्धि उपभोक्ताहरु सचेत नहुँदा यसले निम्त्याउने दुर्घटनाको जोखिम बढीरहेको छ । सही रुपमा यसको प्रयोग गर्न नजान्दा भान्सामै ग्याँस विष्फोट भएर धेरैको ज्यान नै गएका घटनाहरु प्रशस्त छन् ।
ग्याँस सिलिन्डर बिस्फोट हुने कारणहरुः
१.सिलिण्डर भित्र बढी प्रेसर हुनु ।
२.सिलिण्डर पुरानो हुनु ।
३.सिलिण्डरको गुणस्तर जाँच गर्ने सिस्टम नहुनु ।
४.रेगुलेटरको रबर खुकुलो हुनु ।
५.पिभिसी पाइपबाट लिकेज हुनु (मुसाले काटेर, पुरानो भएर, घस्रेर)
६.लिकेज भैसकेपछी आगोको झिल्को पाउनु, बत्तीको स्विच अन गर्नु आदि ।
ग्याँस सिलिन्डर बिस्फोट हुन नदिन अपनाउनुपर्ने सावधानीहरुः
१.खाना पकाई सकेपछी सिलिण्डरको रेगुलटर बन्द गर्ने ।
२.सिलिण्डरमा आगलागी सुरु भै सकेपछी १०/१५ मिनेटपछि मात्र बिस्फोट हुने भएकोले बाँकी समयमा आवश्यक व्यवस्थापन गरेर बिस्फोटलाई रोक्न सकिन्छ ।
३.यदि पाइपमा आगो लाग्यो भने एउटा बोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने अनि एक छिनपछि रेगुलेटर बन्द गर्ने ।
४.यदि रेगुलेटरमा आगो लागेको छ भने एउटा जुटको बोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने अनि एक छिनपछि रेगुलेटर नै झिकिदिने ।
५.यदि सिलिण्डरमै लिकेज भएको छ र आगलागि भै रहेको छ भने सकिन्छ भने वा माथी उल्लेखित समय छ भने सिलिन्डरलाई बोकेर बाहिर लैजाने वा कोहि नभएको स्थानमा लैजान कोसिस गर्ने । त्यो पनि गर्न सकिने अवस्था छैन भने आफू लागायत सबै परिवार सकेसम्म छिटो बाहिर निस्कने र दमकल र प्रहरीलाई खबर गर्ने ।
सिलिण्डरको प्रयोग मिति (एक्सपायर डेट) हेर्ने तरिका
पुरानो वा प्रयोग गर्ने मिति सकिएको सिलिण्डर प्रयोग गरेको कारणले पनि सिलिण्डर विष्फोट भई दुर्घटना निम्त्याउन सक्छ । तसर्थ हामीले आफूले खरिद गरेको वा प्रयोग गरीरहेको ग्याँस सिलिण्डर प्रयोग गर्न उपयुक्त छ कि छैन भनेर थाहा पाउनु आवश्यक छ ।
सिलिण्डरको माथिको गोलो ह्याण्डललाई सिलिण्डरसंग जोड्ने ३ वटा सिधा चेप्टो डण्डी मध्ये कुनै एकमा सिलिण्डरको एक्पाइरी डेट पेन्ट गरिएको हुन्छ । अङ्ग्रेजी अक्षर ए देखि डी सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ । त्यसैबाट अन्तिम मिति थाहा पाउन सकिन्छ । ती अक्षरले एक्सपाईर हुने महिनालाई सङ्केत गर्दछ (जनावरीदेखि डिसेम्बर सम्म) भने अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ ।
A – जनवरी देखि मार्च
B – अप्रील देखि जून
C – जुलाई देखि सेप्टेम्बर
D – अक्टोबर देखि डिसेम्बर
उदाहरणको लागि, मानौँ तपाईँको सिलिण्डरमा ‘ऋ द्दघ’ लेखिएको छ। यसमा, C ले जुलाइ देखि सेप्टेम्बर महिनालाई सङ्केत गर्दछ । अनि 23 ले सन् २०२३ को वर्षलाई जनाउँदछ । यसको मतलब तपाईँको सिलिण्डर सन् २०२३ को जुलाइ देखि सेप्टेम्बर महिनासम्ममा एक्सपाइर हुन्छ । त्यसैले, अहिल्यै तपाईँको सिलिण्डरको अन्तिम मिति जाँच गरिहाल्नुहोस् । अनि अर्को पटक ग्याँस किन्दा अन्तिम मिति हेरेर मात्रै सिलिण्डर लिनुहोला ।
खड्का भीमेश्वर नगरपालिका,नगर आप्तकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन हुनुहुन्छ ।