मानव समाज निर्माणका लागि सञ्चारले महत्वपूर्ण भूमिका खेलेको छ । मानिसहरुले एकअर्कामा अन्तरक्रिया गरेर नै आफ्ना भावना, विचार, धारणा र सन्देशहरु साटासाट गर्ने गरेका छन् । जसले गर्दा आधुनिक मानव समाज निर्माण हुन पुगेको समाजशास्त्रीहरुको भनाईबाट नै पुष्टी हुन्छ ।
भाषा सञ्चारको सबैभन्दा महत्वपूर्ण माध्यम हो । शब्द प्रयोग गरेर र शब्द प्रयोग नगरी दुई तरिकाबाट सञ्चार गर्न सकिन्छ । व्यक्ति–व्यक्ति प्रत्यक्ष भेट भएको समयमा तत्कालिन विषयमा शब्दको प्रयोग नगरेर अर्थात हाउभाउ वा इशाराबाट सञ्चार गर्न सकिन्छ । तर दीर्घकालीन सञ्चारका लागि शाब्दिक सञ्चार अनिवार्य हुन्छ । तसर्थ शब्दको प्रयोग गर्दा भाषाका नियम अर्थात व्याकरणको उत्तिकै ख्याल गर्नु पर्दछ ।
राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता अर्थात आमसञ्चारमा भने भाषाको ठूलो महत्व रहन्छ । तर सञ्चार गर्दा भाषाका बारेमा धेरै कुरा जानकार हुनुपर्दछ, जहाँ आशय बुझे पनि पुग्छ । आमसञ्चार माध्यमले भने चाहे समाचार, सूचना, विज्ञापन वा मनोरञ्जनात्मक जस्तोसुकै विषयबस्तु प्रस्तुत गरुन् हरेक उत्पादनमा भाषाको प्रयोग हुने गर्दछ । आमसञ्चार माध्यमले लेख्य होस् वा कथ्य भाषाको प्रयोग गरेर सन्देश प्रवाह गर्नुपर्ने हुन्छ ।
कथ्य भाषाका सन्दर्भमा आवाज मात्र सुनिने भएकोले भाषा सम्बन्धि व्याकरणका नियमहरुलाई खासै वास्ता गरिँदैन् । तर लेख्य भाषामा भने व्याकरणका नियमहरुलाई चुस्त दुरुस्त रुपमा पालना गर्नुपर्ने हुन्छ । लेख्य भाषाको प्रयोग बढीजसो आमसञ्चारका छापा तथा अनलाईन माध्यममा हुने गर्दछ । पत्रकारिता क्षेत्रलाई उद्योग सम्झने हो भने सूचना र भाषा उद्योगका लागि आवश्यक कच्चा पदार्थ हुन् । तसर्थ पत्रकारितामा आमसञ्चार माध्यमले भाषालाई सहि अर्थ दिन सक्ने गरी केलाउन, खेलाउन, मिलाउन र सिलाउन पनि जान्नु पर्दछ । नत्रभने हाम्रा प्रस्तुति भवन बनाउन एकै ठाउँमा थुपारिएर राखेका बालुवा, ईँटा, गिटी, रड र सिमेन्टको थुप्रो जस्तै बन्न पुग्छन् ।
‘दिनको सङ्केत बिहानीले गर्दछ’ भनेझैं समाचारको विषयबस्तु के हो भन्ने कुरा समाचार शीर्षकले जनाउने गर्दछ । सबै मानिसहरुले पूरा समाचार पढ्छन् भन्ने कुनै सुनिश्चित गर्न सकिँदैन् । कतिपय मानिसहरुले अधिकांश समाचारको शीर्षक पढ्ने र आफूलाई महत्वपूर्ण लागेका समाचार मात्र पूरा पढ्ने गर्दछन् । तसर्थ हामीले लेख्ने समाचारका शीर्षक स्पष्ट र एकार्थी हुनुपर्दछ भन्ने कुरामा दुई मत छैन् । तर कतिपय समाचार शीर्षकहरु पाठकलाई दुबिधाको भुमरीमै पार्ने खालका पनि भेटिन्छन् ।
नेपाली मिडियामा भेटिएका केहि समाचार शीर्षकहरु
‘वडा अध्यक्षको मिलेमतोमा अर्कैले बेचिदियो दुई करोड पर्ने गरिबको जग्गा’
यो एउटा देशकै चर्चित तथा मुलधारको अनलाईन समाचार पोर्टलमा प्रकाशित समाचारको शीर्षक हो । यो शीर्षकको भाषा व्याकरणको हिसाबले सायदै त्रुटी होला । तर यसको आशय अलि नौलो देखिन्छ । किनभने दुई करोडको जग्गाको मालिक कसरी गरिब भयो ? यो घटना हेर्दा ठगि वा झुक्यानसँग सम्बन्धित देखिन्छ । तर शीर्षकले ठगि भन्दा गरिबीलाई बढी जोड दिएको पाईन्छ ।
‘मेयरले विहे गरेकै दिन बेलकामा गर्भवतीको मृत्यु’
यो एउटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारको शीर्षक हो । खासमा मेयर (नगर प्रमुख) को बिहे हुनु र गर्भवतीको मृत्यु हुनुमा कुनै सम्बन्ध देखिँदैन् । एकातिर यी दुई वटा समाचार हुन सक्ने विषयबस्तुलाई एउटै समाचार बनाईएको छ । अर्कातिर नेपाली शब्द ‘नगर प्रमुख’ को सट्टामा अङ्ग्रेजी शब्द ‘मेयर’ को प्रयोग भएको पाईन्छ । ‘बिहे’ हुनुपर्नेमा ‘विहे’ शब्द प्रयोग भएको छ ।
‘दल बदलुहरु नेपाली राजनीतिका गु का किराहरु हुन’
यो एउटा अनलाईन समाचार पोर्टलमा प्रकाशित समाचारको शीर्षक हो । पूरा समाचार हेर्दा यो एउटा राजनीतिक दलको नेताको भनाई हो । हुन त समाचार अर्को पक्षले उत्पादन गरिदिने हो । पत्रकार वा आमसञ्चार माध्यम त आखिर माध्यम नै हुन् । अर्काको विचार, अर्काको धारणा, अर्काका घटना, अर्काको भोगाई आदिलाई हामीले समाचार बनाईरहेका हुन्छौं । तर त्यसो भन्दैमा भाषा अर्काकै हुनुपर्छ भन्ने पक्कै होईन् । मात्र आशय बङ्ग्याउन पाईँदैन । अर्काले दिएको सूचना वा कच्चा पदार्थलाई कति मिठो वा स्वादिलो उत्पादन बनाउने भन्ने कुरा संवाददाता वा सम्पादकको भाषिक प्रस्तुतिको सिप हो ।
‘रामेछाप हरीले मोटरसाईकल सहित चोर समात्यो’
यो एउटा अनलाईन समाचार पोर्टलमा प्रकाशित समाचारको शीर्षक हो । यो शीर्षक पढ्दा वा हेर्दा केहि नमिले जस्तो सबैलाई लाग्न सक्छ । र हो पनि । सामान्यतयाः ‘हरि’ नाम गरेको व्यक्तिले मोटरसाईकलसहित चोर समातेको होला भन्ने बुझ्न सकिन्छ । तर त्यहाँ हरिले नभई ‘रामेछाप प्रहरीले’ मोटरसाईकलसहित चोर समातेको समाचारमा स्पष्ट छ । छिटो समाचार ब्रेकिङ गर्न खोज्दा शीर्षकमा पूरा शब्द लेख्न छुटेको हुनसक्छ ।
भीमेश्वरमा हाम्रो जित सुनिश्चित छः अध्यक्षका उम्मेद्वार चौलागाँई
यो एउटा अनलाईन समाचार पोर्टलमा प्रकाशित समाचारको शीर्षक हो । २०७९ को स्थानीय तह निर्वाचनको सेरोफेरोमा यो समाचार प्रकाशित भएको हो । दोलखाको भीमेश्वर नगरपालिकाका नगर प्रमुखमा एमालेको तर्फबाट उम्मेद्वार बन्नुभएका हरिवंश चौलागाँईको भनाईलाई यो शीर्षकमा समावेश गरिएको हो । तर समाचार लेख्ने पत्रकार मात्र नभई सम्पादन गर्ने सम्पादकलाई समेत नगरपालिकामा अध्यक्ष नभई नगर प्रमुख (मेयर) का उम्मेद्वार हुन्छन् भन्ने जानकारी नभएको देखिन्छ ।
‘डा.बालकृष्ण चापागाईँका सुपुत्र ई.सन्देश चापागाईँको विवाह समिक्षा’
यो एउटा अनलाईन समाचार पोर्टलमा प्रकाशित समाचारको शीर्षक हो । आमसञ्चार माध्यमहरु खासगरी अरुले उत्पादन गरेका समाचार वा अरुका घटनाका विषयमा समाचार बनाउँछौं । त्यसमा पनि समाचारीय मुल्य छ भने मात्र समाचार बन्ने गर्दछ । तर यो समाचार अरुको होईन, समाचार प्रकाशित भएको अनलाईन समाचार पोर्टलका प्रधान सम्पादकको छोराको विवाहको समाचार हो । अझ त्यसमाथि पनि छोरा सन्देश सोहि अनलाईन समाचार पोर्टलका निर्देशक हुनुहुन्छ । यसमा भाषा मात्र होईन समाचारीय मुल्यको सवाल पनि उत्तिकै रुपमा उठ्छ । यसको मतलब समाचारीय मुल्य त थाहा नभएका व्यक्ति पत्रकारिताको पनि नेतृत्वमा हुँदा भाषिक ज्ञान त कता हो कता टाढाको कुरा आकाशको फल जस्तै बन्न पुगेको देखिन्छ ।
‘दोलखाका स्थानीय तहको एक बर्षको बेरुजु ४ लाख ८१ हजार’
यो एउटा अनलाईन समाचार पोर्टलमा प्रकाशित समाचारको शीर्षक हो । हुन त यसमा भाषामा के कमजोरी छ र भन्ने लाग्न सक्छ । र भाषागत रुपमा सायदै कुनै त्रुटी होला । तर कुरा के भने दोलखाका नौ वटा स्थानीय तहमा बार्षिक अरबौं बजेट खर्च हुन्छ । अनि करोडौं रुपैयाँ बेरुजु निस्किएको हुन्छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा रकमलाई हजारमा दिएको हुन्छ । समाचार लेख्ने पत्रकार वा अनलाईन समाचार पोर्टलले प्रतिवेदनमा दिएको अङ्कलाई मात्र आधार मानेर समाचार लेखेको देखिन्छ । यदि वास्तविक बेरुजु शीर्षकमा उल्लेख गरिए जस्तो हुने हो भने साँच्चै यो ठूलो समाचार नै बन्ने थियो ।
माथि उल्लेख गरिएका समाचार शीर्षकहरु केहि प्रतिनिधि घटना मात्र हुन् । नेपालमा झण्डै चार हजारको संख्यामा रहेका अनलाईन समाचार पोर्टल, हजारौंको संख्यामा रहेका पत्रपत्रिका, एक हजार भन्दा धेरै एफएम रेडियो, सैयौंको संख्यामा रहेका टेलिभिजनले कहिँ न कहिँ यस्ता कमजोरी गरीरहेका हुन्छन् । यसरी राज्यका अन्य तीनओटा अङ्गको खबरदारी गर्ने पत्रकारिता क्षेत्र नै संवेदनशील नभएपछि पत्रकारिताप्रति नै प्रतिप्रश्न तेर्सिएको छ ।
सामाजमा दिनानुदिन भईरहने घटनाक्रम भित्रका अस्पष्टताहरुको चिरफार गरेर पाठकहरुलाई स्पष्ट पार्नुपर्ने उत्तरदायित्व बोकेका मिडियाहरुले नै अन्यौलता सिर्जना गर्ने हो भने मिडिया कसका लागि र के लागि भन्ने अस्तित्वको प्रश्न उठ्नुलाई अस्वभाविक मान्न सकिन्न् । संख्याका हिसाबमा च्याउसरी उम्रिएका अर्थात यत्रतत्र स्थापना गरिएका मिडियाको गुणस्तर बृद्धि गर्नु उत्तिकै अपरिहार्य देखिएको छ । त्यसका लागि भाषाको कुरा त कता हो कता पत्रकारिताको आधारभूत ज्ञान सिप नै नभएका व्यक्तिहरु समेत पत्रकार हुँ भन्ने पहिचान बनाउन आउने क्रमलाई रोक्न उचित रणनीति बनाउन जरुरी देखिन्छ ।
ठूलो संख्यामा रहेका मिडियामध्ये अधिकांशमा भाषाको राम्रो ज्ञान भएको जनशक्ति पाउनु मुस्किल विषय बनेको छ । अझ सानो लगानिका अनलाईन समाचार पोर्टलको कुरा गर्ने हो भने एउटै व्यक्ति कम्पनीको अध्यक्ष, प्रबन्धक, सम्पादक, संवाददाता, बजार प्रतिनिधि, लेखापाल मात्र नभई कार्यालय सहयोगी समेतको भूमिकामा रहेको पाईन्छ । यसले गर्दा मिडियाले उठाउने विषयबस्तुको गहनता वा उत्पादित सामाग्रीको गुणस्तर राम्रो पाउनु पनि उत्तिकै चुनौतीको विषय हो ।
मिडियामा आफ्नो समाचार नीति र शैली पुस्तिका नहुँदा जे मन लाग्यो त्यहि समाचार र जस्तो मन लाग्छ त्यहि शैली अपनाएको देखिन्छ । यदि समाचार नीति बनाईएको भए के कस्ता विषयलाई समाचार बनाउने भन्ने एकिन हुन सक्थ्यो । त्यसैगरी शैली पुस्तिका बनाईएको भए समाचारमा प्रयोग हुने भाषामा एक रुपता र शिष्टताको मार्गनिर्देशन हुने थियो ।
पत्रकारितामा उपयुक्त भाषा शैली नदेखिनुको अर्थ पत्रकार आचारसंहिताको फितलो कार्यान्वयन पनि हो । तसर्थ यस्ता विषयमा पत्रकार आचारसंहिताबारे नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घ लगायतका निकायहरु चनाखो हुनु जरुरी छ । जसको प्रभावकारी नियमन हुन सकेमा मिडिया क्षेत्रको छवि उच्च भई पत्रकारिता क्षेत्रकै मर्यादा बढ्ने थियो ।