दोलखा । वैतेश्वर गाउँपालिका अन्तर विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि कालिढुङ्गा माध्यामिक विद्यालय मिर्गेमा सुरु भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन भएको प्रतियोगिताको नेपाली काङ्ग्रेस दोलखाका पुर्वसभापति तथा महाधिवेशन प्रतिनिधि तारा बहादुर कोईरालाले उद्घाटन गर्नुभयो । खेलकुदले अनुशासनको सिप सिकाउने उल्लेख गर्नुहुँदै उहाँले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई खेलकुदमा लाग्न प्रेरित गर्न आग्रह गर्नुभयो ।
वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रमेश खतिवडा, वैतेश्वर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–२ का वडा अध्यक्ष श्यामकुमार तामाङ, वडा नम्बर–३ का वडा अध्यक्ष कमल अधिकारी, गाउँपालिकाका कम्प्युटर इन्जिनियर रोशनकुमार गिरी, जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
प्रतियोगितामा भलिबल, एथलेटिक्स, लङजम्प, हाईजम्प, ट्रिपलजम्प, ज्याब्लिङ थ्रो, सटपुट लगायतका खेल खेलाईनेछ । पालिका भित्रका ९ वटा माध्यामिक विद्यालय सहभागिता रहेकोे प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।