विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको दोश्रो लहरको संक्रमण बढ्न थालेपछि बैशाख तेश्रो साताबाट देशका अन्य जिल्ला जस्तैगरी दोलखामा जारी भएको निषेधाज्ञा मध्य असारबाट खुकुलो हुँदै गएपनि जोखिम भने घटेको देखिँदैन् । अहिले पनि दोलखामा संक्रमण दर ५० प्रतिशतकै छेउछाउमा देखिन्छ भने सक्रिय संक्रमितको संख्या औषतमा पाँच सय आसपासमा छ । प्रदेश अस्पतालको रुपमा घोषित चरिकोट अस्पतालले जिल्लाकै मुख्य केन्द्रको रुपमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापन गरीरहेको छ । यसै सन्दर्भमा भर्खरै एसिया अवार्डस नामक संस्थाले प्रदान गर्दै आएको एसियाकै स्वास्थ्य तथा सामाजिक सेवा अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गर्न सफल हुनुभएका चरिकोट अस्पतालका प्रमुख डाक्टर विनोद दंगालसँग भिलेज खबरका लागि प्रधान सम्पादक तारा बहादुर महतले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
भर्खरै तपाईँले एसियाकै स्वास्थ्य तथा सामाजिक सेवा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ । यो अवार्ड प्राप्त गर्न कसरी सफल हुनुभयो ?
मैले प्राप्त गरेको अवार्ड एसियाकै स्वास्थ्य तथा सामाजिक सेवा अन्तर्राष्ट्रिय अवार्ड हो । यो अवार्ड एसिया अवार्डस नामक संस्थाले मलाई प्रदान गरेको हो । यस संस्थाले एसियाका देशहरुमा स्वास्थ्य, शिक्षा, सामाजिक सेवा लगायत विभिन्न विधामा काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप अवार्ड दिने गरेको छ । सोहि अनुसार मैले पनि आफ्नो अनुभव, योग्यता र विशेषज्ञतासहित दाबी पेश गरेको थिएँ । उक्त संस्थाले तोकेको मापदण्डको प्राथमिकताका आधारमा म यो अवार्ड पाउन सफल भएको हुँ ।
मापदण्डको कुरा गर्नुभयो, अवार्ड प्रदान गर्ने संस्थाले तोकेका के कस्ता मापदण्ड तपाईँले पूरा गर्नुभएको थियो ?
लामो समयसम्म एकै ठाउँका धेरै जनतालाई निःशुल्क रुपमा बहुविशेषज्ञता सहितको स्वास्थ्य सेवा दिएको, कोभिड संक्रमित भएकै बेला समेत कोभिड संक्रमितको उपचारमा खटिएको र विशेष परिस्थितीमा पनि रचनात्मक तरिकाबाट काम गर्नुको साथै अभिलेखन गरेको लगायतका मापदण्ड मैले पूरा गरेको हो । जसमा झण्डै एघार बर्षदेखि दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरीरहेको छु । उक्त अवधिमा मैले ५० हजार बढी जनतालाई विशेषज्ञतासहितको स्वास्थ्य सेवा दिएको छु । २०७२ को भूकम्पको बेला पालमै पनि धेरै शल्यक्रियासहितको उपचार दिएको छु । त्यसैगरी हाडजोर्नी, स्त्रीरोग, बाल तथा सामान्य शल्यक्रिया लगायत एक हजार बढी शल्यक्रिया र एक हजार जना भन्दा बढी व्यक्तिलाई मानसिक स्वास्थ्य उपचार र परामर्श सेवा दिएको छु ।
अर्को महत्वपूर्ण कुरा भनेको केहि महिनाअघि म आफैँ कोरोना संक्रमित हुँदा समेत कोरोना संक्रमितको उपचारमा खटिएको थिएँ । भूकम्पपछि न्याय हेल्थ नेपाल र प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको साँझेदारीमा सञ्चालन भएको चरिकोट अस्पतालमा विद्युतीय प्रणालीबाट बिरामीको सम्पूर्ण अभिलेखीकरण गर्ने कार्यको थालनी भएको छ ।
दोलखामा हालको कोरोना संक्रमणको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?
दोलखामा हालको कोरोना संक्रमणको अवस्थालाई विश्लेषण गर्नुपूर्व यसको केहि पृष्ठभूमी उल्लेख गर्नु आवश्यक हुन्छ । कोरोना संक्रमणको पहिलो लहरलाई हेर्ने हो भने दोलखामा दोश्रो लहर जस्तो जोखिमपूर्ण देखिएको थिएन । करिब २ हजारको हाराहारीमा नमूनाको परिक्षण भएको थियो । संक्रमण दर बढी नै भएको भएपनि उपचार तथा व्यवस्थापन जिल्लामै गरिएको थियो । थोरै केसहरु धुलिखेल, काठमाण्डौं रिफर गरिएको भएपनि उपचारपछि बिरामीहरु निको हुनुभएको थियो । मृत्यु हुने संख्या एकदम कम थियो ।
दोश्रो लहरको कुरा गर्नुपर्दा केहि नयाँ लक्षणसहित संक्रमितहरु फेला पर्न थालेपछि उनीहरुको उपचारमा समेत केहि चुनौतिहरु थपिए । भीमेश्वर नगरपालिकाको सहयोगमा पिसिआर ल्याब सञ्चालनमा आएपछि हाम्रो टेष्टहरुमा ५० देखि ६० प्रतिशतसम्म पोजेटिभ अर्थात संक्रमण देखिन थाल्यो । अस्पताल भर्ना गर्नुपर्ने लक्षणसहितका बिरामीहरु धेरै भए । कतिपय केसहरु काठमाण्डौं रेफर गर्नुपर्ने भए । त्यसमा पनि रेफर भएकाहरुमा धेरैले ज्यान समेत गुमाउनु प¥यो । दोश्रो लहर बैशाखबाट शुरु भयो । जसमा जेष्ठको दोश्रो तेश्रो साता संक्रमण उच्च विन्दुमा पुग्यो । त्यसपछि बिस्तारै संक्रमण घट्न थाल्यो । जब मध्यअसारपछि लकडाउन खुकुलिँदै गयो मानिसहरुका गतिविधिहरु बढ्न थाले साउनको दोश्रो हप्तापछि फेरी संक्रमण बढ्न थाल्यो । साउनको चौथो हप्तासम्म बढेको संक्रमण त्यहि हप्ताबाट लकडाउन भएसँगै अहिले घट्न थालेको छ ।
संक्रमितहरुमध्ये पनि कुन उमेर समूह, लिङ्ग वा क्षेत्रका मानिसहरु बढी प्रभावित भएको पाउनुभएको छ ?
उमेर समूहको कुरा गर्नुपर्दा खासगरी २० बर्षदेखि ६० बर्ष उमेर समूहका मानिसमा संक्रमण धेरै देखिएको छ । त्यसमा पनि बढीजसो पुरुषहरु रहेका छन् । र अझ क्षेत्रको कुरा गर्नुहुन्छ भने भीमेश्वर नगरपालिकामा सबैभन्दा बढी संक्रमितहरु छन् ।
तपाईँले भन्नुभएको उमेर समूह र क्षेत्रका मानिसमा संक्रमण बढ्नुको कारण के हो ?
किनभने २० देखि ६० बर्ष उमेर समुहका मानिसहरु बढी मात्रामा विभिन्न बाहानामा हिँडडुल गर्दछन् । भीमेश्वर नगरपालिकामा जिल्ला सदरमुकाम भएकोले मानिसहरुको आवातजावत र विभिन्न बाहानामा जमघट तथा भिडभाड हुनुले संक्रमण धेरै देखिएको छ । त्यसैगरी कोरोनाको शंका लागेका केहि व्यक्तिले पिसिआर टेष्टका लागि स्वाब दिएपछि र कोरेना पुष्टी भईसकेपछि पनि आफ्नो पेशा, व्यवसाय सञ्चालनसहित अन्य मानिसहरुसँग हेलमेल गर्दा अरुलाई संक्रमण भएको पाईएको छ । अर्को कुरा मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरुपमा पालना गरेको देखिँदैन र कोरोनाको खोप पनि सबैले लगाउन पाउनुभएको छैन् । तसर्थ संक्रमण बढेको हो भन्न सकिन्छ ।
पिसिआर टेष्टका लागि स्वाब दिएका र कोरेना पुष्टी भईसकेका व्यक्तिले संयमता नअपनाएको भन्नुभयो । यसको मतलब उनीहरुमा जनचेतनाको कमी भएरै हो कि अन्य केहि कारण पनि भेट्टाउनु भएको छ ?
हो, यो जटिल प्रश्न उब्जिएको छ । यस विषयमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकमा पनि पटक पटक उठ्ने गरेको छ । यसमा कन्ट्रयाक ट्रेसिङको टिमले पनि काम गरीरहेको छ । तपाईँहरु जस्ता मिडिया र सरकारी तथा गैरसरकारी क्षेत्रबाट पनि चेतनामूलक कामहरु भईरहेका छन् । यसर्थ मानिसहरुमा जनचेतनाको कमी भन्दा पनि हेलचेक्रयाई नै भएको देखिन्छ ।
यस्तो हेलचेक्रयाई गर्ने संक्रमितबाट अन्य मानिसहरु कसरी सुरक्षित हुन सक्छन ? किनभने कोहि पनि मानिसको अनुहार हेरेर त संक्रमण भए नभएको थाहा हुँदैन ?
कोरोना संक्रमण बढाउन यस्तो हेलचेक्रयाई गर्ने मानिसहरुको पनि ठूलो हात छ । एउटा संक्रमितले अरु ५ जनालाई संक्रमण सार्न सक्छ भने ती ५ जनाले अरु २५ जनालाई संक्रमण फैलाउन सक्छन् । यसरी संक्रमण फैलन्छ । तसर्थ पहिलो कुरा त संक्रमित तथा शंकास्पद व्यक्तिले जिम्मेवारीबोध गर्नुपर्छ । अर्को कुरा संक्रमण नभएका व्यक्तिले पनि दुरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्ने, साबुनपानीले हात धुने, सेनेटाईजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण रुपमा पालना गर्न सक्यौं भने संक्रमणबाट जोगिन सकिन्छ । यस्तो जोखिमबाट बालबालिका, बृद्धबृद्धा, दिर्घ रोगी, गर्भवति महिला लगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बढी असर गर्ने हुँदा हामी चनाखो हुनुपर्छ ।
केहि दिनअघि दोलखाका केहि बिरामीहरुमा कोरोनाको नयाँ भेरियन्टको आशंका गरिएको थियो । त्यसको अनुसन्धान प्रक्रिया कहाँ पुगेको छ ?
तपाईँले भन्नुभएझै केहि दिनअघि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरु हामीकहाँ आउनुभएको थियो । तर उहाँहरुको पिसिआर टेष्ट गर्दा संक्रमण भेटिएन् । हामीले दोहो¥याएर टेष्ट गर्दा पनि संक्रमण नदेखिएपछि नयाँ भेरियन्टको आशंका गरेर राष्ट्रिय प्रयोगशाला टेकुमा पठाएका थियौं । त्यहाँ टेष्ट गर्दा पनि संक्रमण भेटिएन । खासगरी केहि व्यक्तिमा रहेको भाइरसको भाइरल लोड कम भएकोले संक्रमण नदेखिएको हुनसक्ने विज्ञहरुले बताउनुभएको छ । तसर्थ नयाँ भेरियन्ट नभएको पुष्टी भएको छ । हामीसँग आउनुभएका अधिकांश विरामीहरु उपचारपछि निको भएर फर्किसक्नुभएको छ ।
अहिले ज्वरो रुघाखोकी जस्ता कोरोनासँग मिल्दाजुल्दा लक्षणसहितका विरामीहरुको संख्या बढेको स्वास्थ्य संस्थाहरुको तथ्याङ्कले देखाउँछ । कोरोना संक्रमण र भाईरल ज्वरो कसरी छुट्याउने ?
यो एकदम इन्ट्रेष्टिङ छ । तपाईले राम्रो प्रश्न उठाउनुभयो । यस बारेमा सबैले जानकारी लिनु आवश्यक छ । कोरोना र भाईरल ज्वरोका धेरैजसो साझा लक्षणहरु छन् । जसले गर्दा मानिसहरुले आफूलाई के भएको भनेर छुट्याउन सक्दैन्न । भाईरल ज्वरोभन्दा कोभिडको लक्षणका केहि नयाँ कुराहरु हुन्छन् । जस्तै स्वाद थाहा नहुने, गन्ध अर्थात बास्ना थाहा नपाउने, धेरै जिउ दुख्ने र कसैकसैलाई वाकवाकी लाग्ने र पखला चल्ने हुन्छ ।
लक्षणका आधारमा कोरोनाको परिक्षण गर्दा कोरेनासँग मिल्दो लक्षण भएकाहरुमध्ये ९० प्रतिशतमा कोरोना संक्रमण पाईएको छ भने भाईरल ज्वरोको लक्षण भएकाहरुमध्ये पनि १० प्रतिशतमा कोरोना संक्रमण पाईएको छ । तसर्थ भाईरल ज्वरोको लक्षण भएकाहरुमा पनि कोरोना संक्रमण हुँदैन् भनेर ढुक्कसाथ भन्ने अवस्थाचाहिँ छैन् । त्यस कारणले दुवैका लक्षण देखापर्न साथ आईसोलेसनमा बस्नु आवश्यक हुन्छ ।
प्रदेश अस्पतालको रुपमा रहेको चरिकोट अस्पतालले कसरी कोरोना संक्रमितको उपचार र व्यवस्थापन गरीरहेको छ ?
भीमेश्वर नगरपालिकाका नगर प्रमुखको अध्यक्षता रहेको चरिकोट अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको मार्गदर्शनका आधारमा हामीले सेवा प्रवाह गरीरहेका छौं । तीनजना डाक्टरको टिमसहित विद्यालय नर्सहरु र सातवटै पालिकाका नर्सहरु संलग्न रहेको कोभिड डेडिकेटेड टिमले संक्रमितहरुको उपचार तथा व्यवस्थापन गरीरहेका छौं । संघिय सरकारको सहयोगमा अक्सिजन प्लान्ट निमार्ण भईरहेको छ, करिब एकमहिना भित्र सञ्चालनमा आउँदैछ । विशिष्ट उपचार कक्षहरुको निमार्ण भईरहेको छ ।
प्रदेश अस्पतालको रुपमा यस अस्पताललाई विकसित गर्ने भनेर प्रदेश सरकारले निर्णय गरेको छ । यसको आर्थिक पाटो तथा अन्य व्यवस्थापन अबका दिनमा देखिएला । प्रदेश सरकारको तर्फबाट मुटुको समेत भिडियो एक्स–रे गर्न मिल्ने डिजिटल भिडियो एक्स–रे मेसिन, मिर्गौला रोगीहरुको लागि डायलाईसिस मेसिन, भेण्टीलेटरसहितको ५ बेड क्षमताको आईसियु कक्षा बनीरहेको छ । यसले गर्दा चरिकोट अस्पताल कोभिडको लागि मात्र नभएर अन्य स्वास्थ्य सेवा दिन पनि सक्षम बनेको छ । तर एउटै समस्या भनेको त्यसमध्ये हामीसँग भएको भेण्टीलेटरसहितको आईसियु र डायलाईसिस मेसिन चलाउन सक्ने जनशक्तिको अभाव छ । यसमा हामीले प्रदेश सरकारलाई पहलकदमी गरीरहेका छौं ।
अन्तमा, कोरोनाको दोश्रो लहर चलिरहेको छ । तेश्रो आउने विज्ञहरुले बताईसकेका छन तर पनि नागरिकहरु आफ्नो नियमित दिनचर्यामा फर्कनुपर्ने बाध्यतामा छन । यस्तो अवस्थामा संक्रमणबाट कसरी जोगिन सकिन्छ ?
अबको समय अर्थात तेश्रो लहरमा सबैभन्दा बढी बालबिालिकाहरु संक्रमणको जोखिममा रहने विज्ञहरुले बताउनुभएको छ । अहिले पनि १० देखि १५ प्रतिशत बालबालिकाहरु संक्रमित छन् ।त्यसैगरी गर्भवति महिलाहरुमा संक्रमण धेरै देखिएको छ । गर्भवति संक्रमित हुँदा आफू र आफ्नो पेटमा रहेको बच्चालाई पनि उत्तिकै जोखि हुन्छ । त्यसो हुँदा बालबालिका र गर्भवति महिलालाई संक्रमण हुनबाट जोगाउनु आवश्यक छ । त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने, पोषिलो र झोलिलो शक्तिबद्र्धक खानेकुरा खाने गर्नुपर्दछ । त्यसैगरी नेपाल सरकारसहित सबै पक्षले छिटोभन्दा छिटो नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आवश्यक पहल गर्नु जरुरी छ ।