दोलखा । जनश्रमिक बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर–३ जफेको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका सचिव सुस्मिता ढुङ्गेल (काफ्ले) ले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विनोद तोलाङ्गीले ६ करोड ५१ लाख २० हजार ३ सय ६ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजक उर्मिला भुजेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सहकारी सङ्घ लिमिटेडका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले नागरिकको जनभावना अनुसार काम गर्ने निकाय भनेकै सहकारी संस्था भएकोले सबैले सहकारीको आवश्यकता अनुसार भूकिा निर्वाह गर्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले संस्थामा रहेको भाखा नाघेको ऋण उठाउनका लागि साक्षी बस्नेहरुले समेत आवश्यक पहल कदमी लिन आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष पर्शुराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथी बागमती प्रदेश सहकारी सङ्घ लिमिटेडका सञ्चालक सदस्य रमेश कार्की, भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड जफेका अध्यक्ष विदुर पोखरेल, जफे मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड जफेका अध्यक्ष देवेन्द्र मिजार, संस्थाका लेखा समिति सदस्य पूर्ण बहादुर रम्तेल लगायतले सहकारीका समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका छन् ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कारोबारकर्ता, बाल बचतकर्ता, सबैभन्दा धेरै शेयर खरिदकर्ता लगायतलाई नगद तथा प्रमाणपत्रसहित संस्थाले सम्मान गरेको छ । २०६४ सालमा स्थापित संस्थामा हाल ९ सय २१ जना शेयर सदस्य रहेका छन् ।