दोलखा । पौरखी कृषि सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका–६ दोलखाको १७ औं वार्षिक साधारणसभा शनिबार चरिकोटमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्नुहुँदै राष्ट्रियसभाका सदस्य घनश्याम रिजालले सहकारीहरुमा रकम थुप्रिएर बस्दा शेयर सदस्यहरुले मुनाफा नपाएको बताउनुभयो । उहाँले यस्तो समस्या सहकारीमा मात्र नभई सम्पूर्ण वित्तिय संस्थाहरुको अवस्था एउटै रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव गोकर्ण बस्नेतले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गोकुल प्रसाद न्यौपानेले गत आर्थिक वर्ष २०८२/०८३ को २८ करोड ९७ लाख १० हजार ७ सय १२ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समिति संयोजक भोला खतिवडाले प्रस्तुत गर्नुभएको छ । साधारणसभाको अवसरमा विभिन्न विधामा ११ जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा उत्कृष्ट कृषक राधिका खड्का, उत्कृष्ट दैनिक बचतकर्ता मोहन रिजाल, उत्कृष्ट मासिक बचतकर्ता रघुनाथ कार्की, उत्कृष्ट बाल बचतकर्ता लिला कुमारी फुयाँल, उत्कृष्ट दैनिक ऋणी दुर्गा बहादुर मुग्राती, उत्कृष्ट मासिक ऋणी रञ्जिता पोखरेल दहाल रहेका छन् । त्यसैगरी जेष्ठ सदस्य निल प्रसाद सापकोटा, जेष्ठ सदस्य कल्पना तमाङ्नी, पुर्व सञ्चालक हरिशरण न्यौपाने, उत्कृष्ट व्यवसायिक (बिक्रेता) कृषक कुमार श्रेष्ठ र २०८२ को एसइइमा उत्कृष्ट नतिजा ल्याउने शैशव भण्डारीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष हरिहर प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा दोलखा जिल्ला सहकारी सङ्घका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, भीमेश्वर नगरपालिका वडा नम्बर–६ का वडा अध्यक्ष नविन कुमार लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।