दोलखा । स्थानीयवासीले १४ बुँदे सहमति कार्यान्वयनको माग गर्दै बन्द गराएको निर्माणाधीन तामाकोशी पाँचौं जलविद्युत् आयोजनाको अडिट–२ को काम सुचारु गर्ने सहमति भएको छ।
आयोजना पक्ष, स्थानीय संघर्ष समिति र स्थानीय तहका प्रतिनिधिबीच भएको छलफलपछि सडक, खानेपानी, तटबन्ध, धार्मिक स्थल, मोटरेबल पुल र रोजगारीलगायत विषयमा तत्काल अघि बढाउने गरी नयाँ सहमति भएको हो। सहमति पत्रमा आयोजनाको अडिट–२ बाट अति प्रभावित बिगु गाउँपालिका–२ र गौरीशंकर गाउँपालिका–६ का स्थानीयवासी तथा आयोजना पदाधिकारीबीच छलफल गरी विभिन्न विषयमा सहमति भएको उल्लेख छ। सम्झौताअनुसार बिगु गाउँपालिका–२ मा सञ्चालित तामाकोशी पाँचौं जलविद्युत् आयोजनाको अडिट–२ बाट मौरदेखि चालु सडक बिगु–२ याङ्जुङसम्म जोड्ने सडकको त्रिपक्षीय इस्टिमेट तयार गरी आर्थिक वर्ष २०८३/८४ मा छुट्याइएको बजेट तथा सम्बन्धित वडा कार्यालयले विनियोजन गरेको बजेटबाट काम अघि बढाइने भएको छ।
त्यस्तै, बिगु–२ को देउलाङ र औराडडाँडा जोड्ने हाङ्ज खोला सडकमा विद्यमान सडकको स्तरोन्नति तथा क्लियरिङ कार्यका लागि कानुनबमोजिम पहल गर्ने सहमति भएको छ। खानेपानीका लागि बजेटबाट काम गरिने बिगु–२ र औराडका स्थानीयका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्न आयोजनाले सुक्खा याममा पानीको बहाव कम भएको समयमा नापजाँच गरी इस्टिमेट तयार गर्ने र आर्थिक वर्ष २०८३/८४ मा छुट्याइएको बजेटबाट काम गर्ने सहमति गरेको छ। स्थानीयले आयोजना निर्माणका कारण खानेपानीलगायत आधारभूत पूर्वाधारमा परेको असर सम्बोधन गर्न माग गर्दै आएका थिए। धार्मिक स्थल र तटबन्ध निर्माण अडिट–२ निर्माणका क्रममा क्षति पुगेको धार्मिक स्थललाई स्थानीयले उपलब्ध गराएको उपयुक्त स्थानमा पुनःस्थापना गर्ने सहमति पनि भएको छ।
सम्झौताअनुसार जग्गा उपलब्ध गराइएको १० दिनभित्र निर्माण कम्पनी सिनो हाइड्रोमार्फत निर्माण कार्य सुरु गर्ने उल्लेख छ। त्यस्तै, मन्थली नजिक मर्किङ व्यवस्थापन गरिएको स्थान वरिपरिका बस्ती तथा खेतको सुरक्षाका लागि दुई लेयरको तटबन्ध निर्माण गर्ने र नदीमा पानीको बहाव घटेको समयमा काम सुरु गर्ने सहमति भएको छ। अडिट–२ मा निर्माण भएको मोटरेबल पुल आयोजना सम्पन्न भएपछि पनि यथास्थितिमा कायम राख्न आवश्यक सहजीकरण गर्ने विषयसमेत सम्झौतामा समेटिएको छ। स्थानीयलाई सीप र योग्यताका आधारमा रोजगारी नयाँ सहमतिमा स्थानीय रोजगारीको विषयलाई समेत स्पष्ट पारिएको छ। तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गत निर्माणाधीन आयोजनाको अडिट–२ र अडिट–३ का अति प्रभावित क्षेत्रका स्थानीय जनशक्तिलाई प्राथमिकतामा राखी दक्षता र योग्यताका आधारमा रोजगारी उपलब्ध गराउने सहमति भएको छ।
आयोजना पक्षले यसअघि पनि स्थानीयको सीप र क्षमताअनुसार रोजगारीमा प्राथमिकता दिँदै आएको बताउँदै आएको छ। कम्पनीका प्रबन्ध–सञ्चालक रामकुमार यादवले स्थानीयका माग क्रमशः सम्बोधन भइरहेको र रोजगारीमा सीप तथा क्षमता भएका स्थानीयलाई प्राथमिकता दिइएको बताएका थिए। नौ महिनापछि सुचारु भएको काम फेरि रोकिँदा असर तामाकोशी पाँचौं जलविद्युत् आयोजनाको निर्माण कार्य यसअघि करिब नौ महिना अवरुद्ध भएको र बल्ल पुनः सञ्चालन भएर निर्माणले गति लिन थालेको आयोजना पक्षको भनाइ छ। अहिले फेरि अडिट–२ को काम रोकिँदा आयोजनाको निर्माण तालिका, लागत र समग्र प्रगतिमा असर पर्ने भन्दै आयोजना व्यवस्थापनले चिन्ता व्यक्त गर्दै आएको थियो।
तामाकोशी जलविद्युत् कम्पनीका प्रबन्ध–सञ्चालक रामकुमार यादवले स्थानीयसँग छलफलका लागि आयोजनाको तर्फबाट आधिकारिक व्यक्ति पठाइएको र संवादबाट समस्या समाधान गर्न आयोजना तयार रहेको बताएका थिए। उनका अनुसार आयोजनाले स्थानीयका मागलाई बेवास्ता गरेको नभई सहमतिमा भएका विषयहरू क्रमशः कार्यान्वयन गर्दै आएको छ। “स्थानीयलाई रोजगारीमा सीप र क्षमता हेरेर प्राथमिकता दिएका छौँ। स्थानीयका माग पनि क्रमशः सम्बोधन हुँदै आएका छन्,” यादवको भनाइ थियो। ‘आजदेखि अडिट–२ को काम सुचारु गर्ने’ नयाँ सहमतिको अन्तिम बुँदामा आजको मितिदेखि बन्द रहेको अडिट–२ को काम सुचारु गर्ने उल्लेख गरिएको छ। यससँगै केही दिनदेखि स्थानीयको अवरोधका कारण रोकिएको निर्माण कार्य पुनः सञ्चालन हुने भएको छ।
स्थानीय संघर्ष समिति, आयोजना पक्ष र स्थानीय तहका प्रतिनिधिको सहभागितामा भएको सहमतिले तत्कालका लागि निर्माण कार्यमा देखिएको अवरोध हटाउने आधार तयार गरेको छ। तर, सहमतिमा समेटिएका सडक, खानेपानी, तटबन्ध, धार्मिक स्थल र अन्य पूर्वाधारका काम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८३/८४ को बजेट तथा सम्बन्धित निकायको प्रक्रियामा भर पर्ने विषयसमेत उल्लेख छ। त्यसैले सहमतिका बुँदा कार्यान्वयनको प्रगति नै स्थानीय र आयोजनाबीचको सम्बन्धलाई दीर्घकालीन रूपमा सहज बनाउने मुख्य आधार बन्ने देखिएको छ।