दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी विगु गाउँपालिकाको आयोजनामा सिँगटीमा जारी पुरुष भलिबल प्रतियोगितामा सोमबार ६ ओटा खेल सम्पन्न भएका छन् ।
६ ओटामध्ये ३ ओटा प्रिक्वारटर फाइनल र ३ ओटा क्वाटर फाइनलका खेल भएका हुन् । प्रिक्वारट फाइनलबाट गौरीशङ्कर–७, गौरीशङ्कर–६ र कालिञ्चोक–९ बाहिरिएका छन् । गौरीशङ्कर–७ लाई विगु–१ ले, गौरीशङ्कर–६ लाई गौरीशङ्कर–४ ले र कालिञ्चोक–९ लाई कालिञ्चोक–३ ले पराजित गरेका हुन् ।
त्यसैगरी सोमबार क्वाटर फाईनलका खेल अन्तरगत गौरीशङ्कर–४ लाई पराजित गर्दै विगु–१, गौरीशङ्कर–५ लाई पराजित गर्दै कालिञ्चोक–३ र विगु–३ लाई पराजित गर्दै विगु–७ सेमीफाईनल प्रवेश गरेका खेल संयोजक दामोदर जोशीले भिलेज खबरलाई जानकारी दिनुभयो । क्वाटर फाईनलको १ खेलसहित बाँकी ५ ओटा खेल मङ्गलबार खेलाईने आयोजकले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी विगु गाउँपालिकाको युवा सशक्तिकरण तथा खेलकुद विभाग प्रमुख प्रकाश गुरुङको आर्थिक सहयोगमा भएको प्रतियोगिताका विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ५५ हजार, ४० हजार २५ हजार र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ट सर्भर, सेटर, स्पाईकर, डिफेन्डर, ब्लकरलाई सम्मान गरिनेछ ।