दोलखा । बैतेश्वर गाउँपालिका प्राकृतिक, धार्मिक तथा साँस्कृतिक हिसाबले सम्पन्न गाउँपालिकाको रुपमा परिचित छ ।
तामाकोशी नदीको तिरदेखि गौरीशङ्कर हिमालको सम्मुखमा रहेको हनुमन्तेश्वर पर्वतको शिरसम्म फैलिएको यो गाउँपालिकामा तराईदेखि हिमालसम्मको हावापानी पाईन्छ । जसरी हावापानीको विविधता छ त्यसैगरी तामाङ, शेर्पा, जिरेल, नेवार लगायतका जनजातिसहित क्षेत्री ब्राह्मणहरुको बसोबास रहेको यस गाउँपालिकामा साँस्कृतिक विविधता रहेको छ ।
त्यसैगरी यस गाउँपालिकामा विभिन्न धार्मिकस्थलहरु रहेका छन् । हनुमन्तेश्वर, वैशाखेश्वर महादेव मन्दिर, कर्कलेश्वर महादेव, बैतेश्वर महादेव, सिद्धादेवी थान लगायतका धार्मिक तथा पाँडुडाँडा जस्ता ऐतिहासिकस्थलहरु पनि यस गाउँपालिकाका उल्लेखनीय सम्पदाका रुपमा पर्दछन् । यीनै धार्मिकस्थलहरु मध्येको एक हो वैशाखेश्वर महादेव मन्दिर ।
वैशाखेश्वर महादेव मन्दिर बैतेश्वर गाउँपालिका वडा नम्बर–३ मिर्गेको माथिल्लो क्षेत्र जिरी नगरपालिकाको सिमानानजिक जङ्गलभित्र पर्दछ । प्राकृतिक रुपमा रहेको ठूलो पहरामुनि गुफाभित्र वैशाखेश्वर महादेव मन्दिर अवस्थित छ । गुफाभित्र शिवलिङ्ग, गाईको कल्चौडो (थुनसहितको), ठेकी लगायत शिलाका विभिन्न आकृतिहरु दख्न सकिन्छ ।
यस मन्दिरमा बाला चर्तुदशी, जनैपूर्णिमा लगायत विभिन्न पर्वहरुमा भक्तजनहरु जाने गर्दछन् भने अन्य समयमा पनि आन्तरिक पर्यटकहरु भ्रमण गर्न जाने गरेका छन् ।




तस्बिरः तारा बहादुर महत/भिलेज खबर