दोलखा । महिलाहरुका लागि आयोजित ‘उद्घोषण तथा नेतृत्व क्षमता विकास’ सम्बन्धि पाँच दिने तालिम शनिबार शैलुङ गाउँपालिकामा सम्पन्न भएको छ ।
तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले देशको विकास र समृद्धिका लागि नेतृत्वमा रहेकाहरुको खबरदारी गर्नु सचेत नागरिकको कर्तव्य रहेको बताउनुभयो । राजनीतिक गतिविधि बुझेर राम्रो राजनीतिक दलको छनौट गर्न, निर्वाचनमा सहभागिता जनाउन र आवश्यक परेमा आफै नेतृत्वमा आउन समेत अहिलेको नयाँ पुस्तालाई आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले आ–आफ्नो रुची र क्षमता अनुसारको काम गरेर सोहि क्षेत्रको नेतृत्वमा जानु उपयुक्त हुने बताउनुभयो । समाजको विकास भनेको पुर्वाधार विकास मात्र नभई पछाडि परेका वर्गको नेतृत्व क्षमता विकास गराउनु महत्वपूर्ण हुने उपाध्यक्ष कार्कीको भनाई छ ।
तालिम समापन समारोहमा प्रशिक्षक तारा बहादुर महत, सहभागीहरु लक्ष्मी विश्वकर्मा र देवीकुमारी शाही लगायतले मन्तव्य व्यक्त गरेका छन् । तालिममा पालिकाभित्रका विभिन्न वडाबाट महिला शिक्षक, सहकारीका कर्मचारी, आमा समूहका पदाधिकारी, स्वास्थ्य स्वयमसेविका लगायतको सहभागिता रहेको छ ।
तालिममा उद्घोषण, भाषणकला, प्रस्तावना पत्र लेखन, माईन्युट लेखन तथा बैठक सञ्चालन, प्रतिवेदन लेखन लगायतका विषयमा प्रशिक्षकद्वय भोला खतिवडा र तारा बहादुर महतले सहजीकरण गरेका छन् । तालिम मङ्गलबारदेखि शनिबारसम्म सञ्चालन भएको हो ।