दोलखा । कालिञ्चोक गाउँपालिका वडा नम्बर–९ को सहयोगमा सुन्द्रावती खेलकुद विकास समितिद्वारा आयोजित तेस्रो वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गौरीशङ्कर–५ सुरीले हात पारेको छ ।
प्रतियोगितामा कालिञ्चोक गाउँपालिका–७ द्वितीय, विगु गाउँपालिका–२ ओराङ तृतीय भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी विशाल मोक्तान, बेस्ट सेटर विकास खड्का, बेस्ट सर्भर दिवस ठकुरी, बेस्ट स्पाइकर प्रविन श्रेष्ठ, बेस्ट डिफेन्डर रुपेन्द्र घिमिरे र अनुशासित खेलाडीको उपाधि भगवान खड्काले प्राप्त गरेका छन् ।
सुन्द्रावती खेलकुद विकास समिति अध्यक्ष विशाल शाहीको अध्यक्षतामा भएको खेल समापन तथा पुरस्कार वितरण समारोहमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र विशिष्ट अतिथी वडा अध्यक्ष राम प्रसाद मैनालीले पुरस्कार वितरण गरेका छन् ।
प्रतियोगिताका विजेताहरु प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, र २२ हजार २ सय २२ रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पदान गरिएको छ । शनिबारदेखि सोमबारसम्म भएको प्रतियोगितामा विगु, कालिञ्चोक र गौरीशङ्कर गाउँपालिकाका वडास्तरका १६ ओटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता सञ्चालनका लागि कालिञ्चोक गाउँपालिका वडा नम्बर–९ सँगै शंकरकुमार ओली, कालिञ्चोक भोजनालय, जटापोखरी निर्माण सेवा, सुदीप बस्नेत, जगदीश खरेल, प्रज्वल होटल, टेकराज शिवाकोटी, नकुल शिवाकोटी, कुमार शिवाकोटी, सुजन थामी, छरछरे सामुदायिक वन, पोखरीचौर सामुदायिक वन, रजिन मैनाली, सन्दिप इन्टरनेशनल प्रालि लगायतले सहयोग गरेका आयोजकले जनाएको छ ।