दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर–५ धरमघरमा बाख्रापालक कृषक प्रोत्साहन तथा एक दिवसीय खसी बोका मेला–२०८३ बुधबार सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर–५ ले आयोजना गरेको मेलामा १ सय ४७ जना कृषकले २ सय ५ ओटा खसी बोका विक्री वितरणका लागि ल्याएका थिए । मेलामा ल्याईएका खसीबोकाको स्वास्थ्य अवस्था, सरसफाई, बिमा, उमेर अनुसारको तौल लगायतका मापदण्डका आधारमा कृषकहरु शिवराम कार्की प्रथम, कमला श्रेष्ठ द्वितीय, सुन्तली श्रेष्ठ तृतीय र दुर्गादेवी कार्की सान्त्वना भएका छन् ।
उत्कृष्ट कृषकहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, ७ हजार ४ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ । कृषि तथा पशुपन्छी कार्यालय दोलखाका पशु चिकित्सक मदन भण्डारीसहितको टोलीले मेलामा ल्याईएका खसीबोकाको मुल्याङ्कन गरेर कृषकहरुलाई पुरस्कृत गरेको हो ।
मेलामा ल्याएकामध्ये २३ ओटा खसीबोका बिक्री भएको वडा अध्यक्ष बासु श्रेष्ठले भिलेज खबरलाई जानकारी दिनुभयो । कृषकले जिउँदो प्रतिकेजी ७ सय ५० रुपैयाँका दरले २३ ओटा खसीबोका बक्रिी गरेकोमा वडाले प्रतिकेजी ४० रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको छ । दशैँको मुखमा मेला सञ्चालन गर्दा कृषको उत्पादनले बजार पाउने अपेक्षा आयोजकले गरेको छ ।
भीमेश्वर नगरपालिकाले वडा नम्बर–५ लाई बाख्रा पकेट क्षेत्रको रुपमा घोषणा गरैको भएपनि बाख्रा पालन सम्बन्धि कार्यक्रमका लागि पर्याप्त बजेट नछुट्याएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले मनोरञ्जनात्मक मेला महोत्सव मात्र नगरी कृषी तथा पशु उत्पादनको प्रदर्शनी मेला आयोजना गरेर कृषकहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।