दोलखा । हिमाली क्षेत्रमा जलवायु परिवर्तन, सामाजिक–आर्थिक रूपान्तरण र दिगो विकासका चुनौतीबारे छलफल गर्दै चरिकोटमा आयोजित तीनदिने गौरीशङ्कर अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ आइतबार सम्पन्न भएको छ ।
गौरीशङ्कर बहुमुखी क्याम्पसको आयोजनामा मङ्सिर ४ देखि ६ गतेसम्म (नोभेम्बर २० देखि २२) सञ्चालन भएको सम्मेलनमा जलवायु परिवर्तन, वातावरणीय दिगोपन, उच्च शिक्षा, पर्यटन, सार्वजनिक नीति तथा स्रोत व्यवस्थापनलगायत विषयमा छलफल भएको छ । सम्मेलनमा कुल ८५ वटा अनुसन्धानपत्र पेस भएकामा ६८ वटा प्रस्तुत गरिएको आयोजकले जनाएको छ । प्रस्तुत अनुसन्धान पत्रमध्ये ५४ वटा प्रत्यक्ष र १४ वटा अनलाइन माध्यमबाट प्रस्तुत भएका थिए ।
सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीले गर्नुभएको थियो । उहाँले जलवायु परिवर्तनलाई नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर गैरपरम्परागत चुनौतीका रूपमा व्याख्या गर्नुभएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न हिमाली जोखिमको सामना गर्नुपर्नेमा केसीले जोड दिनुभएको छ ।
त्यस्तै, भारतीय विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रताप सिंह चौहानले हिमाली क्षेत्रमा रोजगारीभन्दा पनि सीप र गुणस्तरीय शिक्षाको अभाव प्रमुख समस्या रहेको उल्लेख गर्दै बजारको मागअनुसार शैक्षिक पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
सम्मेलनमा हिमताल विस्फोटनबाट आउने बाढी, हिमाली पारिस्थितिक प्रणालीमा देखिएको जोखिम र तल्लो तटीय क्षेत्रका समुदायमा पर्ने प्रभावबारे समेत छलफल भएको छ । यसैबीच, भक्त कवि नरसिंह मेहता विश्वविद्यालय, भारत र गौरीशङ्कर बहुमुखी क्याम्पसबीच अनुसन्धान तथा शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्मेलनको समापन समारोह बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समापन समारोहमा बोल्नुहुँदै मन्त्री केसीले अरुले देशले गरेको प्रकृतिमाथिको अतिक्रमणको पिडा नेपाल जस्ता कुनै गलत काम नगरेका राष्ट्रले भोग्नु परेको बताउनुभयो । सम्मेलनको उद्घाटन तथा समापन दुवै समारोहको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले गर्नुभएको छ ।