दोलखा । गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटले शुक्रबार कक्षा ११ र स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
विद्यार्थी गुणस्तर सर्कलको आयोजना तथा क्याम्पसको समन्वयमा आयोजित कार्यक्रम मार्फत विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले विद्यार्थीको हकहितका लागि क्याम्पस व्यवस्थापन समितिले अधिकतम काम गरीरहेको बताउनुभयो । उहाँले आफू यहि क्याम्पसमा पढ्दा राम्रोसँग बसेर पढ्ने अवस्था समेत नरहेको स्मरण गर्नुहुँदै अहिले क्याम्पस भौतिक, प्राविधिक र शैक्षिक हिसाबले अब्बल रहेको हुँदा विद्यार्थीले मेहनत गरिदिए पुग्ने बताउनुभयो ।
त्यसैगरी क्याम्पस प्रमुख शान्त बहादुर केसीले किशोर तथा युवा अवस्थामा बढी चञ्चलता हुनु स्वभाविक रहेको उल्लेख गर्नुहुँदै आफ्नो सिर्जनशीलतालाई अध्ययन र जीवनसँग जोडेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
विद्यार्थी गुणस्तर सर्कलका संयोजक बिर्सम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ गौरीशङ्कर क्याम्पस इकाइका अध्यक्ष राजन कार्की, विद्यार्थीहरु रजिना वि.क, सपना शाही र कुशल रोकाय लगायतले मन्तव्य व्यक्त गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाको प्राविधिक सहयोगमा नवआगन्तुक विद्यार्थीको रक्त समूह परीक्षण गरिएको छ । कार्यक्रममा १ सय ५ जना विद्यार्थीहरुले आफ्नो रक्त समूह परीक्षण गराएका छन् ।
कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरुले नृत्य, गायन तथा कविता वाचन लगायतका प्रस्तुतीहरु दिएका छन् । विद्यार्थी गुणस्तर सर्कल लगायत विद्यार्थीहरुको नेतृत्वमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिदाईसहित विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।