जतिबेला नेपालमा राजनीतिक दलहरुको स्थापना भयो त्यस बेला नेपाली राजनीतिमा राणा शासनको निरंकुश सत्ता तथा एकतन्त्रिय शासन हाबी रहेको थियो । देश आर्थिक–सामाजिक रुपमा सामन्तवादी र पूँजीवादी उत्पादन तथा असमानता र विभेदको उच्चतम अवस्थामा थियो । राष्ट्रियता नाम मात्रमा सिमित थियो भने वैदेशिक हस्तक्षेप व्यापक थियो ।
विविध कारणबाट मुलुकको आर्थिक–सामाजिक अवस्था अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको आँकलन गर्दै देशको जर्जर अवस्थालाई परिवर्तन गर्नको लागि पूँजीवाद र जनवादी क्रान्तितर्फ संघर्ष अगाडी बढाउने निश्कर्षमा तत्कालिन राजनीतिक दलहरु पुगेको पाइन्छ । जस अनुरुप निरंकुश व्यवस्थाको अन्त्य गरी जनवाद अर्थात लोकतन्त्र प्राप्तिका लागि संघर्ष गर्ने उदेश्य अनुरुप नेपालमा स्थापना भएका राजनीतिक दलहरुले निष्कर्ष निकाल्दै संघर्षको विन्दुबाट जनवादी क्रान्तिको न्युनतम लक्ष्य जनवादी व्यवस्था स्थापना गर्ने र त्यसको क्रमबद्ध विकास गर्दै आधिकतम लक्ष्य समाजवादतर्फ अगाडी बढ्ने निश्कर्ष स्वरुप २०६२/०६३ सालको १९ दिने शान्तिपूर्ण जनआन्दोलन सम्पन्न गर्दै त्यसले जनमुखी र जनअपेक्षित पूँजीवादी क्रान्ति सम्पन्न गरेको छ । यसलाई भरपुर उपयोग गर्दै दीर्घकालिन विकास र समाजवादको आधार तयार गर्ने अवस्थामा आज मुलुक पुगेको छ ।
विशेषत नेपाली राष्ट्रिय राजनीतिमा युवाहरु परिपवर्तनका संवाहक हुन । देशको राजनीतिक परिवर्तनमा युवाहरुको अमुल्य योगदान रहेको छ । जुन योगदान र महत्वपुर्ण भूमिकाबाट नेपाली राजनीतिमा परिवर्तन भएको छ । त्यसको न्युनतम लक्ष्य र उदेश्य अनुरुप पनि सत्ता र शक्तिको उपयोग १६ देखि ४० बर्ष उमेर सुमहका युवाहरुले भरपुर प्रयोग गर्न नपाएको अवस्था र तत्काल पाउने अवस्थाको पनि सीर्जना भएको देखिँदैन । किनभने उल्लेखित उमेर समुहको युवाहरुले आफुलाई सक्षम र सवल छु भनेर प्रमाणित गर्न सकेको अवस्था छैन । उपल्लो निकाय वा नेतृत्वको सामु प्रयोग मात्र भईरहेको छ ।
युवाहरुले आफ्नो न्युनतम लक्ष्य जनवादी व्यवस्था स्थापनाको कार्यभार पूरा गरेर अधिकतम लक्ष्य समाजवाद स्थापना गर्ने मान्यतामा आफ्नो समुहलाई स्थापना गर्न सकेको छैन । नेपालका राजनीतिक दलहरुकाबीचमा आधारभूत तहका सैद्धान्तिक मतभेद र नितिगत भिन्नताहरु त्यति धेरै देखिदैनन् । तर जनवादी व्यवस्थाका लागि गरिने संघर्षकोे बाटो र जनवादी व्यवस्थामा अपनाउने राजनीतिक, आर्थिक र सामाजिक स्वरूप एवम् ढाँचाका बारेमा भने मत भिन्नताहरू रहँदै आएका छन् । तिनै भिन्न्ता र माउ पार्टीको नीति निर्देशन अनुरुप युवाहरुले आफुलाई अगाडि बढाउँदै आईरहेको अवस्था छ । जुन मत भिन्नताको पृष्ठभूमीबाट नेपाली राजनीतिको मातृ पार्टीको मौलिक सिद्धान्त अनुरुप युवाहरु परिचालित र प्रयोग भएको अवस्था छ ।
विशेष गरी जनवादी क्रान्तिको बाटो र क्रान्तिपछि स्थापना हुने व्यवस्थामा राजनीतिक, आर्थिक र सामाजिक स्वरूप एमव् ढाँचाका बारेमा नवीन मान्यता आत्मसात गरेको र ती मान्यताहरू व्यवहारतः सिद्ध हुंदै गएको केहि अवस्था त देखिन्छ । तर त्यो सैद्धान्तिक कोणबाट आफूलाई परिपक्व सवल र सक्षम नेतृत्वको रुपमा स्थापित गर्न भने सकेको अवस्था छैन । यतिखेर समग्र नेपाली राजनितीको मार्गदर्शक सिद्धान्तको रुपमा देशको आवश्यक्ता र अबको राजनीतिक बाटोलाई कसरी स्थापित गर्ने ? भन्ने सवालमा नेतृत्व र युवाहरुबिचमा घनिभुत छलफल तथा बहसको आवश्यक्ता रहेको छ । तर त्यसमा कुनै पनि पक्ष त्यति धेरै गम्भिर ढंगबाट लागेको भने पाईदैन । जुन कार्यको लागि विभिन्न चरणमा बहस तथा छलफलहरु अगाडी बढाउन जरुरत छ । राजनीतिक अस्तित्वलाई संविधान र कानूनको परिधिभित्र रही राजनीतिक प्रतिस्पर्धा गर्न पाउने लोकतान्त्रिक विधिलाई देशको परिवर्तित अवस्था र समयानुकुल सिद्धान्तका रुपमा अगाडी बढाउन जरुरत छ ।
प्रतिस्पर्धामा प्राप्त हुने जनमतबाट राजनीतिक दलहरूको हैसियत र अवस्थाको निर्क्यौल निकाल्न सक्ने र त्यसलाई सैद्धान्तिक रुपमा नेतृत्वदायि भुमिका निर्वाह गर्न सक्ने सिद्धान्तका रुपमा स्थापित गराउन जरुरत छ । जुन कुराहरुलाई जनताको बहुदलीय जनबादले केहि मात्रामा नेतृत्व गरेको र सैद्धान्तिक रुपमा आफुलाई अब्बल ठानेको त पाईन्छ तर त्यसले पुर्णता पाएको भने पाईदैन । जति मात्रामा गरेको छ त्यसले नेतृत्व पुस्तान्तरण वा युवाहरुले गहन रुपमा लिएर परिस्कृत गर्दै आफुलाई स्थापित गरेको भन्ने पाईदैन । जबजले राजनीतिको सार्वभौम नियमलाई राजनीतिक क्षेत्रमा नेकपा एमालेले सफलतापूर्वक प्रयोग गरेर स्थापित गरेको भने पाइन्छ । जबजको यो मान्यता नेपाली राजनीतिको हरेक प्रतिस्पर्धामा क्रमशः सत्य सावित हुंदै गइरहेको पनि छ ।
नेपालमा रहेका राजनितिक दल र ति दलको नेतृत्वमा रहेका युवाहरुमा एउटा गम्भिर खालको समस्या पाईन्छ । जुन समस्याले गर्दा कुनै पनि बिषयबस्तुका बारेमा गहन अध्ययन, अनुसन्धान बिश्लेषण नगर्ने, सिद्धान्त, नीति र विधिको पुर्ण पालना नगर्ने तर जबरजस्त रुपमा आफुलाई नेतृत्वमा स्थापित गर्न खोज्ने खालको स्वभावका कारण नीति, नेतृत्व र राजनीतिक आन्दोलनले सार्थकता नपाउने त हैन ? भन्नेमा गम्भिर हुन जरुरत छ । साथै नैतिक र ब्यहारिक रुपमा पनि सचेत रहन जरुरत छ । त्यसैले अबका दिनमा बिशेषतः युवा नेतृत्वले समयनुकुल परिवर्तित राजनीतिक सिद्धान्त, बिषयबस्तुमा गहन अध्ययन सहितको पूर्ण ज्ञान तथा अनुसन्धान र आफुलाई नीतिगत र व्यहारिक रुपमा अब्बल बनाउँदै नेतृत्वमा स्थापित हुन जरुरत छ ।