एक सिङ्गे गैँडा पछाडीका दुई खुट्टाको आडले उभिन्छ । अगाडीका दुई खुट्टामध्ये दायाँले हँसिया हथौडा अंकित रातो झण्डा उठाउँछ । ठिङ्ग उभिएर सामुन्नेको सूर्य अंकित चिन्हलाई मोहित हुँदै हेरिरहन्छ ।
विश्वमै दुर्लभ जंगली जनवार एक सिङ्गे गैँडा कहिल्यै उभिन सक्दैन । नत कुनै वस्तु समाउन नै सक्छ । केवल चार खुट्टा टेकेर जंगलमा विचरण गर्छ । उभिएको गैँडा केवल कल्पनाको ‘ब्राण्ड’ मात्र हो । धेरैलाई जानकारी नै छ यो नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो हो । हरियो घाँसमा टेकेर उभिएको गैँडा झण्डा र सूर्यको सम्मिश्रणको प्रतीक चित्र सामाजिक सञ्जालमा भाइरल छ । आमसञ्चार माध्यमभरि छाएको छ । पार्टी नेता र कार्यकर्ता पंक्तिले यो लोगोभित्र आफ्नो तस्बिर जोडेर आदनप्रदान गरिरहेका छन् ।
नेकपा एमालेको २०७८ साल मंसिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन चितवनमा हुँदैछ । एमालेले महाधिवेशनहरुमा प्रतीक चिन्हको रुपमा पहिलो पटक जनवारलाई रोजेको हो । एमालेले छैठौँ राष्ट्रिय महाधिवेशनबाट मात्र लोगोको अभ्यास सुरु गरेको देखिन्छ ।
एमालेले छैठौँ महाधिवेशनमा पार्टीको हँसिया हथौडा अंकित झण्डालाई प्रयोग ग¥यो । सातौँमा अक्षरहरुको पृष्ठभूमिमा जानकी मन्दिरको चित्र मिलाइको थियोे । आठौँमा ऐतिहाँसिक थलो वुटवलको ऐतिहाँसिक जितगढी किल्ला र सूर्य चिन्हलाई लोगोको रुपमा प्रयोग ग¥यो । नवौंमा राष्ट्रिय झण्डा र नौ अंकको मिश्रणसहित काठमाडौंका ऐतिहासिक थलोलाई आधार बनाएर प्रतीक बनायो ।
अहिले गैँडा, झण्डा र सूर्य चिन्हलाई रोजिएको छ । यो लोगो मजदूर युनियन जिफन्टका नेता महेन्द्र श्रेष्ठले बनाएका हुन् । जिफन्टको घटक इम्प्रेशन नेपालमा आवद्ध उनैले छैठो महाधिवेशनदेखि लगातार पोस्टर र लोगो बनाउँदै आएका छन् । गैँडासहितको लोगो पनि उनकै परिकल्पना हो । एमाले केन्द्रीय कार्यालयको सल्लाह अनुसार परिस्कृत भएको लोगो विगतको तुलनामा बढी आकर्षक छ । र, वढी प्रचारित पनि छ ।
संसारभर विभिन्न कार्यमा लोगो प्रयोग भैरहेका छन् । लोगोमा जनवारको प्रयोग गर्ने प्रचलन पुरानै हो । देशका झण्डा, विषेश कार्यक्रम र उत्सवहरुमा लोगोमा जनवार रोजिएका छन् । जनवार अंकित लोगामा आ—आफ्नै कथा हालेका छन् । रोचक कथा भर्दै लोगोहरुलाई महत्वपूर्ण बनाइरहेका हुन्छन् ।
अमेरिकाको दुई ठूला पार्टीका झण्डा नै जनवार अंकित छन् । अमेरिकाको डेमोक्रटिक पार्टीले गधा अंकित गर्दै झण्डामा प्रयोग गरेको छ । रिपब्लिकनले हात्तिको चित्र राख्दै झण्डा बनाएको छ । चुनाव चिन्ह पनि गधा र हात्ति नै हो ।
कार्टुनिष्ट थोमास नास्टले सन् १८७० मा चिडियाखानामा भएको जनवारहरु न्युयोर्कको सेन्टरपार्कमा कुदिरहेको कार्टुन हार्पर साप्ताहिकमा प्रकाशित गरे । कार्टुनमा एउटा गधाले सिंहको छाला ओढेर अन्य जनावारलाई लेखट्दै आएको देखिन्छ । त्यहीनिर एउटा हात्ति रिपब्किनलाई भोट हाल्नु भनेर हतासपूर्वक हिडिरहेको पनि देखिन्छ । त्यही कार्टुनलाई जोड्दै अमेरिकी राजनीतिमा दुई पार्टीवीचको झण्डा र चुनाव चिन्हको व्यङ्ग्यात्मक कथा चर्चित पनि छ ।
डेमोक्र्याटिक पार्टीले गधा जस्तै कडा परिश्रमी, लचकदार र चतुर जन्तुको रुपमा चित्रण गर्दै दललाई बलियो सावित गरेको कथा बनाउँदै आएको छ । रिपब्लिकनले हात्ति जस्तो बलियो पार्टीको रुपमा उभ्याउँछ ।
देशको विशेषता अनुसार जिवजन्तुलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यमा अंकित गर्छ । छिमेकी राष्ट्र भुटानले अजिङ्गरलाई झण्डामा राखेको छ । श्रीलङ्काले सिंह, मेक्सिकोले चील र सर्पलाई झण्डामा प्रयोग गरेको छ । प्रतीक चिन्हमा भारतले सिंहको प्रयोग गरेको छ । सन् १९६० मा भएको रोम ओलम्पिकमा व्वाँसोको थुनबाट दुई जना दाजुभाइ वच्चाहरु रेमुस र रोमुलसले दुध चुसिरहेको प्रतीक वनाएको थियो । पछि ती दाजुभाइले रोम सहर स्थापना गरेर राजा भै नेतृत्व गरेको कथा जोड्ने गरिन्छ ।
नेपालको सवैभन्दा ठूलो दल एमालेले पनि खास अर्थसहित महाधिवेशनमा गैँडाको प्रतीक अघि सारेको छ । चितवन राष्ट्रिय निकुञ्ज एक सिङ्गे गैडाको आवास क्षेत्र हो । नारायणी किनार गैँडा सयर गर्ने सुरक्षित थलो पनि हो । त्यहीँ किनारमा पाँच लाख जनतामाझ अत्याधुनिक प्रविधिले वनाएको मञ्चमा उभिएर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने भनिएको छ ।
यसैलाई कथा हाल्दै एमालेले गैडाको चित्रलाई महाधिवेशनको लोगो चुनेको फेहरिस्त वनाएको छ । जंगलबाट खुला घाँसे मैदानमा उभिएर शक्तिशाली जनवारले एमालेको झण्डा उठाएको कथामा आधारित लोगो तयार भएको डिजाइनर महेन्द्र श्रेष्ठ बताउँछन् । विश्वमै दुर्लभ एक सिङ्गे गैडा कडा अवरोधका वावजुत बदलिँदो पर्यावरणीय परिस्थितिसँग संघर्ष गर्दै नेपालमा भने संख्या बढाइरहेको छ । एमालेले पनि कडा चुनौतीको सामना गर्दै आफ्नो आकार बढाइरहेको बेला दशौं महाधिवेशन गर्दै छ ।
गैँडाको घर चितवनबाट नेपाल चिनाउन पर्यावरणीय संरक्षणका लागि राजनीतिक पहलसँग लोगोको कथा जोडिएको छ । ‘सन्तुलित प्रकृति, सुरक्षित समाज’ भन्ने नारासमेत समावेश गरेर राजनीतिक दलको एजेण्डामा पहिलोपटक वातावरणीय महत्वलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
विभिन्न प्रसंगमा जनावरलाई अघि सार्ने चलन विश्वभरी नै छ । पर्यावरणसँग जोड्दै हालै संयुक्त राष्ट्रसंघले डाइनोसरले ‘म किन लोप भएँ’ भन्ने कथात्मक भिडियो सार्वजनिक गरेको छ । एक सिङ्गे गैँडा पनि पृथ्वीमा खतरापूर्ण अवस्थामा छ । खासमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि गैँडा मोह छ । उनी प्रधानमन्त्री भएका बेला उनका धर्मपत्नी राधिका शाक्यले एक महिनाको गैँडा अगिंकरण (एडप्ट) गर्दै पेन्सनबाट खाइखर्च व्यहोरिदिने घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले ‘एडप्ट एन एनिमल’को अवधारणा प्रस्तुत गर्दै नेपालको पर्यावरणीय चिन्तालाई विश्वामाझ सन्देश दिएका थिए । २०७३ सालमा दुर्लभ एक सिङ्गे गैँडाका दुई जोडी चीन सरकारको आग्रहमा नेपालले उपहार पनि पठाएको थियो ।
गैँडाहरुको आँगनमा हुन लागेको नेकपा एमालेको ऐतिहाँसिक महाधिवेशनको लोगोलाई लिएर विभिन्न व्यङ्ग्यहरु सार्वजनिक भैरहेका छन् । मजदूर, किसान, सर्वहारा, श्रमजीवि वर्गको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई उठाउनुलाई अन्यथा अर्थ लगाइएको छ ।
एमालेको विधान महाधिवेशन सकिसकेको सन्दर्भमा नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनका लागि गैँडाको चित्र रोजिनु खुला र विशिष्ट सोचमा आधारित छ । सामान्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पूँजिपति वर्गलाई शत्रु मानेर अघि बढेको एमालले राजनीतिमा गैँडा अंकित लोगोले देशको समग्र अवस्थालाई समेटेको भन्ने अर्थमा बुझ्दा नै राम्रो मानिने छ ।
जंगलको सुन्दर शाकाहारी जनवारलाई साक्षी राख्दै नेकपा एमालेले सक्षम, इमान्दार र जुझारु नेतृत्व दिने सोच आफैमा नवीन हो । हालै सम्पन्न विधान महाधिवशनले निर्देशित गरेको विचार, सिद्धान्त, कार्यक्रम, आन्दोलन र संगठनलाई आत्मसाथ गर्दै अघि बढ्न सक्ने कर्मठ नेतृत्व चयन हुँदा गैँडालाई साक्षी राख्नु जलवायु परिवर्तनमा कम्युनिष्ट पार्टीको गहिरो चिन्ता प्रकट हो भन्ने वुझाईबाट हेर्न पनि सकिन्छ ।
गैँडा, हँसिया हथौडासहितको झण्डा र सूर्य चिन्ह अंकित लोगो भरिएको झोला वोकेर चितवन अधिवेशनमा पुग्ने करिब २२ सय प्रतिनिधिहरुलाई विवेकपूर्वक नेतृत्व चुन्ने मौका छ । देशको प्रमुख पार्टीसँग केवल पार्टी नेता र कार्यकर्ताको मात्र सम्वन्ध हुँदैन । एमालेसँग नेपाली जनताको भाग्य र भविष्य जोडिएको हुनाले देशले अपेक्षा गरेको नेतृत्व एमालेले चितवनबाट उतार्ने विश्वास लिइएको छ ।
(मानन्धर नेकपा एमाले महाधिवेशन प्रचार कमिटिका सदस्य हुनुहुन्छ ।)