माननीय प्रचण्डज्यू,
आज २२ वर्ष भयो
मेरो जीवनको दिशा बदलिएको दिन,
मेरो बाबा (बुद्धिमान पाख्रिन) को न्यानो हात एकै क्षणमा
सशस्त्र द्वन्द्वको आँधी तुफानले खोसेर लगेको दिन ।
मेरा बाबा कुनै पदको लोभलेभन्दा बढी मानिसहरूका समस्यामा दौडिने असल सामाजिक सेवक हुनुहुन्थ्यो । जनताले विश्वास गरेर २०५४ सालमा ठुलोपातल गा.वि.स. अध्यक्ष बनाएका इमानदार, शिक्षित, सचेत नागरिक । उहाँले राजनीतिलाई ‘सेवा’ मान्ने र सशस्त्र द्वन्द्व बढ्दै गएको जगमा पनि ‘हिंसा समाधान होइन’ भनेर म जस्तै छोराछोरीहरुलाई पाठ पढाउने मान्छे । तर सशस्त्र द्वन्द्वले पाठ मानेन । म आज पनि बुझ्न सक्दिन, एक असल नागरिक किन सशस्त्र राजनीति र रणनीतिक भाषणहरूको ‘मूल्य’ बन्नुपर्यो ?
आज बाबाको २२–औँ स्मृति दिवसमा, म तपाईंलाई केही आवश्यक प्रश्न सोध्दैछु, किनकि तपाईं युद्धको एउटा पात्र होइन, त्यो युद्धको निर्णयकर्ता पक्षका नेता हुनुहुन्थ्यो ।
प्रचण्डज्यू,
राजनीतिक लक्ष्य प्राप्त गर्नु र एक असल नागरिकको ज्यान खोसिनु—के यसलाई इतिहासले न्याय मान्छ ?
युद्धमा मारिएका निर्दोषहरूको राजनीतिक जवाफदेहिता तपाईं कुन दिन दिने सोचमा हुनुहुन्छ ?
शान्ति–सम्झौतापछि पीडितहरूका घाउ बोकेर बाँचिरहेका परिवारसँग ‘माफी’ र ‘मूल्यांकन’को कुनै नैतिक रूपरेखा तपाईंका नजरमा किन अझै स्पष्ट छैन ?
नयाँ पुस्तालाई सशस्त्र द्वन्द्वको न्याय सावित गर्ने कथाभन्दा द्वन्द्वका काँडाहरू पनि सत्यसँगै किन सुनाइँदैन ?
किनकि हामी पीडितका छोराछोरी त्यो अध्याय भोगेका साक्षी हौँ ।
प्रचण्डज्यू,
म राजनीति बुझ्ने दाबी गर्दिनँ, तर २२ वर्षदेखि मनमा राखेको पीडा राजनीतिक उत्तर खोज्दै आज फेरि सतहमा आएकी छु । सशस्त्र द्वन्द्वले मेरा बाबा खोस्यो, तर बाबाले सिकाएको सत्य, करुणा र साहस अहिलेसम्म मबाट कसैले खोस्न सकेन । मलाई केवल एउटा कुरा चाहिएको छ, इतिहासका घाउहरू बेवारिसे नबनून्, राजनीतिक जिम्मेवारी कुनै दिन वास्तविक रूपमै स्वीकारियोस् । किनकि बाबाजस्ता असल नागरिक कुनै पनि ‘संघर्षको मूल्य’ हुनै सक्दैनन् ।
हामी जस्तो छोरीहरुले २२ वर्षदेखि बुबाको शान्त आत्मालाई उत्तर खोज्दैछौ तर उत्तर पाएको छैन । यसको सहि उतर कहिले पाउछौ ?
पार्टीको नाम फेर्दैमा सशस्त्र द्वन्द्व कालको जिम्मेवारी र जवाफदेहिताबाट भाग्न मिल्दैन, यो कुराको त हेक्का होला नि हजुरला…?????
प्रीति पाख्रिन, दोलखा