दोलखा । आफू र आफ्नो परिवारको लागि काम गर्दै आईरहनुभएकी भीमेश्वर नगरपालिका वडा नम्बर–१ की निशा थामीको दैनिकी पछिल्लो तीन बर्षदेखि फेरिएको छ । २०७९ को वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएपछि थामी आफ्नो र परिवारको लागि भन्दा वडाबासीका लागि धेरै समय व्यतीत गर्दै आउनुभएको हो । “कति बेला कहाँ पुग्नुपर्छ, टुङ्गो हुँदैन । नागरिकले बोलाएपछि रातसँझ नभनी नागरिकका दुःख सुखमा सामेल हुन दौडिहाल्नुपर्छ”, थामीले भन्नुभयो ।
२६ वर्षको उमेरमा निर्वाचन जितेर नगरपालिकाकै सबैभन्दा कम उमेरकी महिला सदस्य हुनुभएकी थामी २०५२ सालमा साविक लापिलाङ गाविस (हाल कालिञ्चोक गाउँपालिका वडा नम्बर–६) को पिलीखेतमा जन्मिनुभएको हो । सात दिदी बहिनी र एक दाइसहित बुबाआमाका आठ सन्तानमध्ये निशा चौथो सन्तानको रुपमा जन्मिनुभएको हो । कक्षा १ देखि ६ सम्म गाउँकै विद्यालयमा पढ्नुभएकी थामी कक्षा ७ देखि आफन्तको आश्रयमा चरिकोट बसेर कालिञ्चोक माविमा पढेको बताउनुहुन्छ ।
कक्षा १० मा पढ्दापढ्दै विवाह भयो । एसएलसी दिने बेला उहाँ सात दिनकी सुत्केरी भएर पनि परीक्षा दिनुभयो । तर गणित विषयमा असफल भएपछि दोहोर्याएर परीक्षा दिने मौका पाउनुभएन । घरकी जेठी बुहारी । घरमा स–साना देवर र नन्दाहरु । विवाह गरेको करिब २ बर्षमा ससुरा देहावसानले निशाले पढ्न त कसरी पाउनु, आफ्नै बालबच्चा घर व्यवहार धान्दै ठिक भयो । तरपनि सामाजिक क्षेत्रमा काम गर्ने रुची भने कम भएन ।

बजेट तथा योजना निर्माणका लागि वडा परिषद्मा सहभागी हुँदै निशा थामी ।
गाउँकै सोनारी महिला बचत तथा ऋण सहकारी संस्थामा सञ्चालक समिति सदस्य बनेर नेतृत्वको सुरुवात गर्नुभएकी थामी सोही संस्थाको कोषाध्यक्ष र सचिव भएर काम गर्नुभयो । सहकारीमा रहेर नेतृत्वदायी काम गर्दागर्दै आफ्नो वडाका नागरिकहरुसँग उहाँको राम्रै घुलमिल र प्रभाव जमिसकेको थियो । अनि राजनीतिक रुपमा पनि नेपाली काङ्ग्रेसमा आबद्ध थामीको पार्टीमा राम्रै सक्रियता थियो ।
२०७९ को स्थानीय निर्वाचनका लागि उम्मेद्वारको चर्चा चल्न थालेपछि निशाका पनि कान ठाडा भए । अनि महिला वडा सदस्यको उम्मेद्वारमा पार्टीमा दाबी गर्नुभयो । दाबी त गर्नुभयो तर अरु दलसँग गठबन्धन गरेर चुनावमा जानुपर्ने भएपछि नेपाली काङ्ग्रेसबाट महिला सदस्य पाउने सम्भावना रहेन् । थामीको सौभाग्य नै भन्नुपर्ला वडा तहमा नेकपा एकिकृत समाजवादी पार्टी गठबन्धनमा सामेल नभई एक्लै निर्वाचन लड्ने भएपछि महिला सदस्य नेपाली काङ्ग्रेसले नै पाउने भयो । अनि पार्टीले पनि निशालाई नै टिकट दिने टुङ्गो लगायो ।
पार्टीले टिकट दिने सङ्केत पाएपछि सुरुमा त निशालाई उम्मेद्वार बनौं कि नबनौं भनेर दुविधा भयो । चुनावमा हारिने हो कि भन्ने पनि लाग्यो । तर श्रीमान्ले अर्को पाटीले पाउन लागेको टिकट फर्केर आएको छ अवसर गुमाउनु हुँदैन भनेपछि निशालाई पनि चित्त बुझ्यो । अनि चुनावमा होमिनुभयो । उमेरले आफूभन्दा धेरै परिपक्व र अगाडि नै कार्यपालिका सदस्य समेत बनेर काम गर्नुभएकी गौरी थामीलाई २ सय ४३ मतले पछाडि पारेर निशा विजयी हुनुभयो । अनि बन्नुभयो नगरपालिका नौ ओटा वडामध्येकै सबैभन्दा कान्छी महिला सदस्य । “मैले सहकारीको जिम्मेवारीमा रहँदा गरेको कामबाट प्रभावित भएर अनि युवा भएकोले नागरिकहरुले युवाबाट केहि आशा गरेर मलाई जिताउनुभएको हो”, थामीले भन्नुभयो ।

बजेट तथा योजना निर्माणका लागि टोल भेलामा सहभागी हुँदै निशा थामी ।
वडा सदस्य बनेपछि थामी जनताको सेवामा तल्लिन हुनुहुन्छ । तीन बर्ष काम गरिसक्दा पनि धेरै काम गर्न बाँकी रहेकोले आफू अहोरात्र नागरिकको सेवामा लाग्ने उहाँको प्रण छ । निर्वाचनको बेला एउटा पार्टीमा आबद्ध रहेको भएपनि अहिले सम्पूर्ण भीमेश्वर नगरबासीको साझा जनप्रतिनिधि बनेर आफूले काम गरीरहेको थामीको भनाई छ । घरमा पालेका भैँसी, बाख्रा, कुखुराको व्यवस्थापन गर्नुको साथै बालबच्चालाई विद्यालय पठाएर निशा प्रत्येक आईतबार र बुधबार वडा कार्यालयमा नागरिकको सेवामा बस्ने गर्नुभएको छ ।
कसैको श्रीमती, कसैको बुहारी, कसैको आमा, घरको जिम्मेवार मान्छे यस्तै–यस्तै भूमिकाबाट सबैभन्दा पहिला त घरबाटै निस्किन धेरै महिलाहरुलाई सहज छैन् । निशा पनि श्रीमान्को पूर्ण साथले मात्रै आफू बाहिर निस्किन सकेको बताउनुहुन्छ । घरबाट त पारिवारिक समर्थन छ । कुनै समस्या छैन् । तर निशालाई विभिन्न वाहानामा पछाडि धकेल्न खोज्नेहरुको पनि कमी नभएको उहाँको गुनासो छ । वडा अध्यक्ष पुरुष हुनुहुन्छ । निशासँग आफ्नो सवारी साधन छैन । वडा अध्यक्षसँग साँझविहान नभनी नागरिकका घर–घरमा पुग्नुपर्ने हुन्छ । यस्तैमा केहि समय पहिले वडा अध्यक्षसँग मोटरसाईकलमा सँगै यात्रा गरेको विषयमा समेत प्रश्नको सामना गर्नुपरेको तीतो अनुभूति निशासँग छ । तर पछि उक्त विषय छलफलबाट साझा बुझाईका साथ टुङ्गिएको निशाले बताउनुभयो ।
जनप्रतिनिधि बन्नु भन्दा पहिला सहकारीकै नेतृत्वमा बस्नका लागि पनि तँछाड मछाड गर्नुपर्ने निशाका लागि अहिले जिम्मेवारीको ठूलै चाङ छ । नगरपालिकाकै विधयेक निर्माण समितिमा बसेर नगरपालिकाको कानुन बनाउने कामका हुनुहुन्छ । आफ्नै वडाका दुई ओटा विद्यालयको व्यवस्थापन समितिमा पदेन सदस्य हुनुहुन्छ । वडा सदस्यको रुपमा वडाको विकास निर्माण, अनुगमन र जनताको सुख दुःखमा त थामी २४ सै घण्टा खटिईरहनुभएको छ । पहिला नेतृत्व पाईन्छ कि पाईँदैन भनेर चिन्ता गर्ने निशालाई अहिले सबैतिरको नेतृत्व निभाउन सकिन्छ कि सकिन्न भन्ने चिन्ता हुन्छ ।

हजार दिने आमालाई पोषण सामाग्री वितरण गर्नुहुँदै निशा थामी ।
वडा सदस्यको रुपमा तीन बर्ष काम गरिसकेपछि निशामा नेतृत्व गर्ने हिम्मत झन्–झन् बढीरहेको छ । उहाँले धेरै पटक कार्यवाहक वडा अध्यक्ष बनेर पनि काम गरिसक्नुभएको छ । निर्वाचन अगाडिको आफू र अहिलेको आफूमा ठूलो अन्तर आएको निशाको अनुभव छ । २०७९ मा वडा सदस्यको उम्मेद्वार बन्न हिचकिचाएकी निशा अब त आगामी निर्वाचनमा पार्टीले टिकट दिए वडा अध्यक्ष बनेर सिङ्गो वडा हाँक्ने आँट आफूमा आईसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“हामी महिलाहरु चुलोमा मात्र सिमित नभएर चाहेपछि देश त चलाउन सक्छौं, वडा त के नै हो र !”
महिला र दलित महिला वडा सदस्यहरुको नेतृत्व क्षमता अभिबृद्धिका लागि दलित महिला केन्द्र नेपाल नामक संस्थाले भीमेश्वर नगरपालिकामा काम गरीरहेको छ । यो संस्थाबाट बेला–बेलामा तालिम लिएपछि आफूमा नेतृत्व क्षमता अझै बढेको थामीको भनाई छ । अनि संस्थाले आगामी २०८४ सालमा हुने निर्वाचनलाई केन्द्रित गरेर बनाएको ‘८४ मा पहिला, हुनुपर्छ महिला’ नारालाई व्यवहारमा उर्तान आफू आतुर रहेको थामी बताउनुहुन्छ ।