दोलखा । नेकपा एमाले दोलखाको नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ ।
नेकपा एमाले दोलखाका पुर्वअध्यक्ष इश्वरचन्द्र पोखरेल, निवर्तमान अध्यक्ष नर बहादुर श्रेष्ठ र पुर्व जिल्ला कमिटीका सचिव भरत प्रसाद दुलालले अध्यक्ष पदमा उम्मेद्वारी दिएका चरिकोटमा जारी दशौं जिल्ला अधिवेशनको निर्वाचन मण्डलले जनाएको छ । पोखरेल र श्रेष्ठले अघोषित रुपमा प्यानलसहित उम्मेद्वारी दिएका हुन् भने दुलालले एकल उम्मेद्वारी दिनुभएको छ ।
पोखरेल, श्रेष्ठ र दुलाल नेकपा एमाले दोलखाको आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा क्रमशः अध्यक्ष, उपाध्यक्ष र सचिवमा चयन भएका थिए ।
त्यसैगरी उपाध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धर र निवर्तमान सचिव हिरा थोकरको उम्मेद्वारी परेको छ । मानन्धर श्रेष्ठ र थोकर पोखरेलनिकट मानिन्छन् ।
सचिवमा श्रेष्ठको प्यानलबाट निवर्तमान एमाले जिल्ला कमिटी सदस्य तथा गौरीशङ्कर गाउँपालिकाका पुर्व गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्का र पोखरेलको प्यानलबाट कानुन व्यवसायी समेत रहेका एमाले नेता कृष्ण बहादुर बस्नेतले उम्मेद्वारी दिनुभएको छ ।
दुईजना उपसचिवको लागि १२ जनाको उम्मेद्वारी परेको छ । खुलातर्फ हरि ओली, इश्वर न्यौपाने, विदुर शर्मा, धिरज सुवेदी, गणेश शिवाकोटी, टपिन्द्र खड्का, लोक बहादुर नेपाली, धन बहादुर तामाङले उम्मेद्वारी दिएका छन् भने महिलातर्फ कमला बस्नेत, मेनुका सुवेदी, गोमा केसी र सीता केसीको उम्मेद्वारी परेको छ ।
नयाँ नेतृत्व चयनका लागि बुधबार विहान १० बजेदेखि मतदान कार्यक्रम सञ्चालन हुने कार्यतालिका रहेको छ ।