दोलखा । ‘वैदेशिक रोजगारीः अवसर कि बाध्यता’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता बिहीबार चरिकोटमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिकाको रोजगार सेवा केन्द्र अन्तर्गत सञ्चालित सामी कार्यक्रमको आयोजना तथा गौरीशङ्कर बहुमुखी क्याम्पसको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा कालिञ्चोक मावि चरिकोटकी छात्रा विपना नेपाली प्रथम, कालिञ्चोक माविकै युवराज तामाङ द्वित्तीय, गौरीशङ्कर बहुमुखी क्याम्पसकी छात्रा अप्सरा शिवाकोटी तृतीय तथा गौरीशङ्कर क्याम्पसकै छात्रा सुजता खड्का र कालिञ्चोक माविका छात्र राजेन्द्र माझी सान्त्वना भएका छन् ।
प्रतियोगिताका विजयी प्रतियोगीहरु प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्नेहरुलाई क्रमशः ६ हजार, ५ हजार, ४ हजार र ३/३ हजार रुपैयाँ नगदर प्रमाणपत्रले पुरस्कृत गरिएको छ । प्रतियोगितामा गौरीशङ्कर बहुमुखी क्याम्पस र कालिञ्चोक माविमा कक्षा ११ र १२ मा अध्ययनरत १४ जना विद्यार्थीले भाग लिएका छन् ।
भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–४ का वडा अध्यक्ष तारानाथ चौलागाँईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो, गौरीशङ्कर क्याम्पसका क्याम्पस प्रमुख शान्त बहादुर केसी, भीमेश्वर रोजगार सेवा केन्द्रका संयोजक डम्बर प्रसाद ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।
करिब एक बर्षदेखि भीमेश्वर नगरपालिकामा सञ्चालित सामी कार्यक्रमले सुरक्षित आप्रवासन सम्बन्धि काम गर्दै आएको छ । हरेक बर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिएको छ ।