दोलखा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दोलखामा जगदीश खरेल चुनावी मैदानमा छन् ।
पहिलो पटक २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका खरेल अहिलो दोस्रो पटक निर्वाचन लड्दै छन् । २०७९ को निर्वाचनमा विजयी उम्मेद्वारले ३६ हजार भन्दा धेरै मत प्राप्त गर्दा ३ हजार ८ सय मत प्राप्त गरेका खरेल अहिले निर्वाचन जित्ने अपेक्षासहित मतदातासँग मत मागिरहेका छन् ।
पछिल्लो समय नयाँ दल र पूराना दलका नाममा भईरहेको विभाजनको रेखाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँको दर्जामा गणना गरिरहेको छ । सुरुमा पत्रकारिताबाट चर्चा कमाएर राजनीतिमा लागेका पार्टी सभापति रवि लामिछानेको पछाडि लागेकाहरु लामिछाने सहकारी काण्डमा मुछिएपछि अहिले भने भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा प्रचार गरिएका बालेन अर्थात बालेन्द्र शाहको पछाडि लागेको जमात पनि ठूलै छ ।
अघिल्लो निर्वाचनमा लहलहैमा उम्मेद्वारी दर्ता गरेका खरेल यसपाली भने साँच्चै चुनावी अभियानको महसुश गरिरहेका छन् । नेता कार्यकर्तादेखि मतदातासम्मको भेटपछि निर्वाचन जित्ने आशा बोकेर खरेल उत्साहित देखिएका छन् । तर खरेललाई चुनाव जित्न सहज भने देखिँदैन् । एमालेको लालकिल्ला भनिएको दोलखामा अरु ठूला पार्टीले त बिरलै निर्वाचन जित्ने गरेका छन् भने नयाँ पार्टी, नयाँ सङ्गठन अनि भूगोलका लागि नयाँ राजनीतिक व्यक्ति खरेललाई जित निकाल्नु चानचुने कुरा छैन् ।
वैदेशिक रोजगारीमा विदेश पुगेकाहरुले सामाजिक सञ्जालमा गरेको समर्थन राम्रो देखिएपनि मतदानस्थलमा पुग्ने मतदानले कसलाई मत दिन्छन् त्यो त हेर्न फागुन २१ पछिको नतिजा कुर्नुपर्ला । तसर्थ राष्ट्रिय स्वतन्त्र पार्टी भूगोलमा नभई गुगलमा भेटिने भनेर खिसीट्युरी भईरहेका छ । यसको मतलब उक्त पार्टीका पछाडि नवयुवाहरुको जमान नदेखिएको भने होईन् । ठूलो कुरा त यसलाई यसरी पनि मान्न सकिन्छ कि दशकौं लगाएर सङ्गठन बनाएका दलहरुको तुलनामा बिना सङ्गठन यति छोटो र छिटो समयमा केहि जमात पछाडि लाग्नु पनि उपलब्धि मान्न सकिन्छ ।
इन्जिनियर भनेर प्रचार गरिएका खरेल सबईन्जिनियर मात्र हुन् । खरेलको क्रेज दोलखाका खासै छैन भन्दा पनि हुन्छ । किनभने खरेल २०७९ को चुनावपछि फेरी २०८२ को चुनावका लागि मात्र औपचारिक राजनीतिक गतिविधिमा दोलखा फर्किएका हुन् । तसर्थ उनी भूगोलमा भेटिने नेता होईनन् । तर उम्मेद्वारप्रति कुनै क्रेज नभएपनि पार्टीप्रति भने थोर बहुत क्रेज रहेको पाईन्छ । पार्टीका समर्थक तथा मतदाताहरुलाई न पार्टीको नाम थाहा छ न त उम्मेद्वार नै मात्र थाहा छ त केवल चुनाव चिह्न घण्टी ।
पहिलो कुरा त पटक पटक मन्त्री र सांसद बनिसकेका एमालेका पार्वत गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका विशाल खड्का र पत्रकारिताको माध्यमबाट नै भएपनि राष्ट्रिय रुपमा छवि बनाएका नेपाली काङ्ग्रेसका अजयबाबु शिवाकोटीका अगाडि खरेलको व्यक्तिगत परिचय धेरै होचो देखिन्छ । जसले गर्दा दोलखाका जनताले खरेललाई चिन्दैनन् । यसर्थ मतदातामाझ पार्टी भन्दा व्यक्ति चिनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा असिनपसिन भईसकेको छ । तसर्थ व्यक्तिको प्रभाव मतदातामा पर्ने सम्भावना नगन्य छ ।
दोस्रो कुरा नयाँ र पूराना दलको कुरा गर्दा न त राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ हो न त खरेल नै नयाँ हुन् । पार्टी पनि २०७९ मा केहि सिट जितेर प्रतिनिधिसभा र सरकारमा समेत पुगिसकेको दल हो भने खरेल आफैँ २०७९ को निर्वाचनमा जनताले नरुचाएका पात्र हुन् । यस अर्थमा पनि नयाँ दल र नयाँ व्यक्ति भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले दोलखामा गरेको प्रचार नै भ्रामक छ । कतिपय नयाँ दलले समेत राष्ट्रिय स्वतन्त्र पार्टी पूरानो दल भएको भन्दै नयाँको सूचीमा राख्न नमिल्ने बताएका छन् ।
तेस्रो कुरा राष्ट्रिय स्वतन्त्र पार्टीमा भएको जनसमर्थन कुनै ठूलो आशा र भरोसाले नभई अन्य दलबाट अवाक भएकाहरुको अस्थायी समर्थन मात्र हो । कतिपयले २०६४ को माओवादी जस्तै हो भने पनि न त यस पार्टीको कुनै राजनीतिक दृष्टिकोण छ न त स्पष्ट कार्यदिशा नै । अनि अर्को कुरा नयाँ भनिएको र १० वर्ष विद्रोह गरेर आएको माओवादीले त जनअपेक्षा अनुसार काम गर्न सकेन भने यसलेचाहिँ के गर्ला र भनेर टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् । यसको मतलब नयाँलाई मौका दिऔं केहि राम्रो गर्छ कि भनेर जनताले अपेक्षा राख्नु अस्वभाविक भने पक्कै होईन् ।