रामेछाप । दोरम्बा गाउँपालिका २ दोरम्बा बजारमा निर्माणाधीन शान्तिपार्क अलपत्र परको छ । निर्माणकार्य अन्तिमचरणमा पुग्दा बजेट अभाव भएपछि शान्तिपार्क अलपत्र परको हो ।
पार्क निर्माणको काम ०६६ सालमा थालिएको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत करिब तीन करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने गरी सुरु गरिएको पार्क अहिले अलपत्र अवस्थामा छ । पार्क निर्माणमा शान्ति मन्त्रालयले क्रमागत कार्यक्रममार्फत आर्थिक वर्ष ०६६ देखि ०७४ सालसम्म गरी करिब दुई करोड ५० लाख रुपैयाँ रकम खर्च गरिसकेको छ ।
३२ साउन ०६० मा दोरम्बामा २१ माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेपछि त्यस भेगमा बसोवास गर्ने नागरिक गाउँ छाडेर अन्यत्र सरेका थिए । सरकार र विद्रोही माओवादी शान्तिवार्ता आएसँगै त्यस गाउँका त्रसित नागरिकलाई केही सान्त्वना दिन सरकारले शान्तिपार्क निर्माणको काम अघि बढाएको थियो ।
बनेका संरचना भत्कन थाले
निर्माणाधीन पार्कभित्र भवन, शौचालय, प्रतीक्षालय, घेराबारलगायतका संरचनाहरू निर्माण गरिने र भित्रै रिङरोड निर्माण गर्नेलगायतको इस्टिमेट रहेको थियो । हाल पार्कमा प्रतीक्षालय, पैदल हिँड्न प्रयोग गरिने सिँढी, शौचालय र प्रतीक्षालय निर्माण भएका छन् । शौचालय निर्माण भए पनि झ्याल–ढोका राखिएको छैन । पार्कमा लगाइएको घेराबारसमेत भत्किएर क्षत्विक्षत् अवस्थामा पुगेको दोरम्बा गाउँपालिका वडा नं.२ का मिनबहादुर घिसिङले जानकारी दिए ।
उनले भने, ‘शान्ति मन्त्रालयमार्फत हुँदै गरेको काम स्थानीय निकायको निर्वाचनपछि बिथोलियो । मन्त्रालयले गरेको काम पनि स्थानीय निकायको निर्वाचनपछि स्थानीय सरकारलाई जिम्मा लगाएर हिँड्यो । स्थानीय निकायले मन्त्रालयसँग आवश्यक कागजात र चाबी बुझेर पनि पार्कमा आवश्यक बजेट छुट्टाएन नत पार्कको उचित संरक्षण नै ग¥यो,’ घिसिङले बताए ।
स्थानीय तहले ग¥यो बेवास्ता
मन्त्रालयबाट बाँकी बजेट आउन नसके पनि स्थानीय सरकार गठन भएपछि बजेट आउने र पार्क निर्माणको कामले पूर्णता पाउने स्थानीयले अपेक्षा राखेका थिए । तर, स्थानीय सरकारले पनि निर्माणमा बेवास्ता गर्दै आएको छ । स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले न आवश्यक बजेट व्यवस्थापन गर्न सके नत प्रदेश र संघमार्फत नै बजेट ल्याउन सके । निर्माण भएका संरचनाको समेत संरक्षण हुन नसक्दा दुःख लागेको स्थानीय मीनबहादुर तामाङले बताए । स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिले दोरम्बा बजारका नागरिकलाई हेर्ने दृष्टिकोण सौताको जस्तै व्यवहार भएको आरोप तामाङको छ ।
जनप्रतिनिधि भन्छन्– बजेट नै भएन
शान्तिपार्कको जिम्मा शान्ति मन्त्रालयले दोरम्बा गाउँपालिकालाई जिम्मा लगाएको थियो । तर, आवश्यक बजेट नहुँदा शान्तिपार्कको बाँकी काम पूरा गर्न नसकेको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए । उनले भने, ‘वास्तवमा पालिकाले जिम्मा लिए पनि नयाँ काम गर्न सकिएको छैन । आगामी वर्षमा केही रकम छुट् याएर मर्मत–सम्भार गर्ने योजना भने रहेको उनले बताए । बनेका संरचना संरक्षणका लागि पनि एउटा समिति गठन गरेर समितिलाई जिम्मा लगाउने गरी काम अघि बढाउने योजना छ,’ गाउँपालिका अध्यक्ष मोक्तानले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको छ ।