दोलखा । दोलखा खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि चरिकोटमा शुरु भएको छ ।
दोलखा चेस होम नेपालले पूर्वमन्त्री, आदर्श पुरुष नेपाली काङ्ग्रेसका नेता स्वर्गीय भीम बहादुर तामाङको स्मृतिमा दोलखा खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको हो । चरिकोटस्थित कालिञ्चोक माध्यामिक विद्यालयमा सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, फ्रान्स र अमेरिकाका गरी १ सय ५६ खेलाडी सहभागि भएको दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्दमान श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियागितामा सबैभन्दा कान्छी खेलाडी भारतकी ६ बर्षिया अनुप्रिया यादव र सबैभन्दा जेष्ठ खेलाडी भारतकै ८३ बर्षिय डाक्टर आर के गुप्ता सहभागि हुनुभएको छ । पहिलो दिन दुई राउण्ड खेल खेलाउने भनिएको भएपनि उद्घाटन सत्र र अन्य तयारीमा समय खर्च हुँदा एक राउण्ड मात्र खेल खेलाईएको छ । दोश्रो दिन शनिबार विहान ८ः३० बजेदेखि खेल शुरु गरिने आयोजककले जनाएको छ ।
प्रतियोगितामा विजयी हुने प्रथम, द्वित्तिय, तृत्तिय र सान्त्वना हुनेलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा पाँचौंलाई २० हजार, छैटौं र सातौंलाई जनही १५ हजार लगायत १५ औं स्थान हाँसिल गर्नेसम्मका खेलाडीलाई नगद तथा मेडलले सम्मान गरिने भएको छ । यसरी विभिन्न स्थान र विधामा गरी ४ लाख ८३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
भीम बहादुर तामाङ स्मृति प्रतिष्ठान, नेपाल र दोलखा जिल्ला बुद्धिचाल सङ्घको सहयोगमा आयोजित खेल जेठ ९ गतेसम्म सञ्चालन हुनेछ ।