दोलखा । तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सीर्जना सुवेदीले गाउँपालिकाको गाडि व्यक्तिगत प्रायोजनका लागि दुरुपयोग गरेको पाईएको छ ।
उपाध्यक्ष सुवेदी चढेको प्रदेश ३–०१–००२ झ ४९२६ नम्बरको स्कोरपियो गाडि बुधबार दिउँसो सिन्धुपाल्चोकमा दुर्घटनामा परेपछि यो तथ्य बाहिरिएको हो । सुवेदी आफ्नो कान्छो छोराको इन्गेजमेन्ट (टिकाटालो) मा सहभागि हुन काठमाण्डौं गएर फर्कने क्रममा गाडि दुर्घटनामा परेको भएपनि मानवीय क्षेति भने भएको छैन् ।
काठमाण्डौंबाट दोलखा आउँदै गरेको उपाध्यक्ष सुवेदी चढेको गाडि र विपरित दिशाबाट आईरहेको बा.प्र.०२–०२४ प ७४९१ नम्बरको मोटरसाईकल अरनिको राजमार्ग अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका–११ बहरबोटेमा ठोक्किएर दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाईकल चालक ललितपुरको गोदावरी नगरपालिका–१० का ५२ बर्षिय शिवराम थापा घाईते भएकोमा धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
यसअघि पनि उपाध्यक्ष सुवेदीले आफ्नो व्यक्तिगत कामका लागि सार्वजनिक सम्पत्तिको रुपमा रहेको गाउँपालिकाको गाडि दुरुपयोग गरेको गुनासाहरु आएका थिए ।
नियुक्ति नै नभएका ड्राईभरले गाडि चलाएको बेला दुर्घटना
गाडि दुर्घटनामा परेको समयमा गाउँपालिकाको नियुक्ति नै नभएका ड्राईभरले गाडि चलाएको प्रमुख प्रशासकीय अधिकृत बद्री प्रसाद वाग्लेले जानकारी दिनुभयो । उपाध्यक्षले चढ्ने गाडिका ड्राईभर भुवन कार्की बिदामा बसेको समयमा केहि दिनका लागि उपाध्यक्षले नकुल कार्कीलाई गाडि चलाउन लगाएको र भुवन कार्की बिदा सकिएर कार्यालय हाजिर भएपछि पनि नकुल कार्कीलाई नै गाडि चलाउन दिईएको हो ।
नियमित तलब खाने भुवन कार्यालयमा हाजिर गरेर मात्र बसेका छन् भने ज्यालादारी कामदारका रुपमा काममा लगाईएको नकुल कार्की गाडि चलाईरहेका हुन् । आफू कार्यालयमा नभएको बेला तत्कालिन आवश्यकता अनुसार नकुल कार्कीलाई काममा लगाईएको भएपनि नियुक्ति नदिएको र भुवन बिदा सकिएर कार्यालयमा हाजिर भईसकेको प्रमुख प्रशासकीय अधिकृत वाग्लेले बताउनुभयो ।
यो घटनाबाट उपाध्यक्ष सुवेदीले एकातिर गाउँपालिकाको गाडिको दुरुपयोग र अर्कातिर एउटा गाडिका लागि दुईजना ड्राईभर राखेर गाउँपालिकालाई नै दोहोरो आर्थिक भार थोपरेको स्पष्ट देखिन्छ ।
घटनाबारे उपाध्यक्षको प्रतिक्रिया
यस बिषयमा उपाध्यक्ष सुवेदीले आफू खिम्ती १ जलविद्युत आयोजनाको विषयमा छलफल गर्न काठमाण्डौं गएको र सोहि समयमा छोराको इन्गेजमेन्ट पनि भएको बताए पनि जलविद्युतको छलफलमा भने सुवेदी सहभागि नभएको पाईएको छ ।
जलविद्युतको छलफलका लागि गठित समितिमा तामाकोशी गाउँपालिकाबाट अध्यक्ष प्रोणप्रताप केसी, उपाध्यक्ष सीर्जना सुवेदी र वडा नम्बर ५ का वडा अध्यक्ष शम्भु केसी रहेकोमा एउटा मात्र गाडि प्रयोग गर्न सक्ने अवस्था समेत देखिन्छ ।
गाडि ड्राईभरको बिषयमा बर्षौदेखि उपाध्यक्षको गाडि चलाउँदै आएका भुवनले उमेर नपुगेकी बालिकासँग विबाह गरेकोले आफू न्यायिक समितिको संयोजक समेत रहेको हुँदा नैतिक रुपमा भुवनलाई ड्राईभर राख्न असहज भएको सुवेदीको भनाई छ । नकुल कार्कीलाई ड्राईभर राख्ने बेलामा प्रमुख प्रशासकीय अधिकृत नभएकोले नियुक्ति दिन नसकेको र भुवनलाई पनि तत्काल बर्खास्त नगरी अन्य काम लगाउने गरी कार्यालयमा हाजिर हुन भनिएको उपाध्यक्ष सुवेदीले भिलेज खबरलाई बताउनुभयो ।
अध्यक्ष चढ्ने गाडि वडा नम्बर ५ का वडा अध्यक्षले चलाएर हिँड्दा प्रश्न नगर्ने मैले अर्को ड्राईभर प्रयोग गर्दा किन प्रश्न भन्दै उपाध्यक्ष सुवेदीले प्रतिप्रश्न गर्नुभयो ।