दोलखा । लामाबगरको फलेक याङ्लुक नाका हुँदै चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन तस्करीमा संलग्न नौ जनालाई दोलखा जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजालसले थुनछेक आदेश मार्फत तस्करीमा संलग्न नौ जनालाई थुनामा पठाउन तथा तीन जनालाई धरौटी र तीन जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । चिनियाँ नागरिकहरु दावा भन्ने आकार लामा र टासी भन्ने गेङ रु तथा नेपाली नागरिकहरु नुर्बुछिरीङ शेर्पा, पेम्बा तामाङ, चस्मान तामाङ, सनद प्रधान, लाल बहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्धा पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ ।
त्यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र तिलक विकलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न भनिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम सुनमाला तामाङ र चेतनाथ न्यापानेलाई साधारण तारेखमा छोड्न आदेश दिईएको छ ।
नेपाल सरकार वादी रहेको मुद्धामा सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता अर्जुनकुमार कोईराला र सहायक जिल्ला न्यायाधिवक्ता पुर्णेन्द्र पाण्डे तथा प्रतिवादीहरुको तर्फबाट बरिष्ठ अधिवक्ताहरु कमलमणि श्रेष्ठ र योगेन्द्र बहादुर अधिकारी, अधिवक्ताहरु केदार गुरागाँई, कृष्ण बहादुर बस्नेत, नर बहादुर योगी, टिका बहादुर कुँवर, आकृति अधिकारी, धनजीत बस्नेत, देबराम बुढाथोकी, गणेश बहादुर खत्री, किशोर सापकोटा, ज्ञानदर्शन भट्टराई, सुन्दर श्रेष्ठ र सुब्बा श्रेष्ठले बहस गर्नुभएको थियो ।
गत असोज १० गतेदेखि १३ गतेसम्म तीन पटकमा प्रहरीले विगु गाउँपालिका वडा नम्बर–३ जामुनेबाट ११ किलो अवैध सुन बरामद गरेको थियो ।