दोलखा । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि चरिकोटमा सुरु भएको छ ।
बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजना सञ्चालन हुन लागेको प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता तथा पुर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले उद्घाटन गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्नुहुँदै सिटौलाले खेलकुदबाट अनुशासन, कुटिल निर्णय क्षमता र सामुहिक अपनत्व जस्ता कुरा राजनीतिक क्षेत्रले पनि सिक्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक बर्षको बजेटमा खेलकुद क्षेत्रको बजेट पहिले भन्दा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री काफ्लेले निर्माणधिन भीमेश्वर रङ्गशालालाई डिपिआर बमोजिम नै पूर्णता दिनेगरी बजेटको व्यवस्थापन गर्ने बताउनुभयो ।
कार्यक्रम उद्घाटनसत्रका अध्यक्ष तथा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशलाई खेलकुदको हब बनाउन अर्थमन्त्री र आफू निरन्तर लागि रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद जिपछिरीङ लामा, नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामा र भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता दोलखामा आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागि हुन बागमती प्रदेशका १३ ओटा जिल्लाका खेलाडी, प्रशिक्षक, खेलप्रेमी लगायत सैयौं मानिसहरु चरिकोटमा भेला भएका छन् ।