दोलखा । विगत केहि दिनदेखि चर्चित समाधिस्थल तथा मृत्यु संस्कार सम्बन्धी विवाद समाधानको लागि बैतेश्वर गाउँपालिका वडा नम्बर ८ ले शुक्रबार एक कार्यदल बनाएको छ ।
गत असार २७ गते स्थानीय ९३ बर्षिया वृद्धा अमृतमाया श्रेष्ठको निधनपछि अन्त्यष्टि गर्न नदिएकोे बिषयमा सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । घटनालाई लिएर आज वडा नम्बर ८ ले बाह्रहाते सामुदायिक वन, वृन्दावासिनी सामुदायिक वन, खनियाखर्क सामुदायिक वन, सिमलपाखर सामुदायिक वन, सौर्य चिहानडाँडा सामुदायिक वनका उपभोक्ता समिती, स्थानिय जनप्रतिनिधि, दोलखा इसाई समाजका पदाधिकारी लगायत सरोकारवालाबिच भेलाको आयोजना गरेको थियो ।
भेलामा इसाई समुदायको लागि उपयुक्त स्थानमा समाधिस्थलको व्यवस्थापन गर्न तीन सदस्यीय कार्यदल बनाई प्रक्रिया अगाडी बढाउने निणर्य गरिएको दोलखा इसाई समाजका अध्यक्ष पा.विजय गोलेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सामुदायिक वनका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र वडा प्रतिनिधि सहित कार्यदल निमाण गरिएको छ ।
छलफल कार्यक्रममा बोल्दै बैतेश्वर–८ का वडा अध्यक्ष शान्त जिरेलले अनावश्यक रुपमा सामान्य बिषयलाई जटिल बनाएको आरोप लगाउदै राजनैतिक रङ्ग सहित वडालाई विवादित बनाउन खोजिएको भन्दै खेद प्रकट गर्नुभयो । कार्यक्रममा दोलखा इसाई समाजका अध्यक्ष पा.विजय गोलेले मृत्यु प्राकृतिक नियम भएकोले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृती र आस्थाअनुसार अन्त्यष्टि गर्न पाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरेको औल्याउनुभयो । उहाँले भविष्यको दिनमा जिल्लामा यस्ता घटनाहरु दोहोरिन नदिनस्थानिय सरकारसँग समन्वय गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसअघि घटनालाई लिएर ख्रीष्टियन मिडिया सोसाईटी, संयुक्त नागरिक पार्टी, जिल्लाका इसाई समुदाय लगाएतले सत्यतत्थ्य छानबिन गरि मृतकको परिवारलाई न्याय दिलाउन र सम्पुर्ण इसाई समुदायको मौलिक अधिकार कायम राख्न माग गर्दै प्रेस विज्ञप्ती जारी गरेका थिए ।