दोलखा । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसमा यसबर्ष कक्षा ११ र स्नातक तह प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई बिहीबार स्वागत गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी गुणस्तर सर्कलको संयुक्त आयोजनामा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो । नवआगन्तुक विद्यार्थीहरुलाई सहज रुपमा क्याम्पसमा घुलमिल गराउनका लागि क्याम्पस तथा विद्यार्थीको हकहितमा काम गर्ने राजनीतिक एवम् गैरराजनीतिक विद्यार्थी संगठनहरुले स्वागत गर्ने गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नुहुँदै गौरीशङ्कर बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष अमृत राउतले विद्यार्थीको रुचीलाई ख्याल गर्दै क्याम्पसले नृत्य कक्षा कक्षा सञ्चालन गरीरहेको र निकट भविष्यमा नै रेकर्डिङ स्टुडियो निर्माण गर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई जिल्लामा नै सिप र रोजगारमूलक विषयको पठनपाठन गराउनका लागि त्रिभुवन विश्वविद्यालयमा एलएलबी, बिएएलएलबी, बिएचएम, बिआईटी लगायतका विषयको अध्यापन अनुमतिका लागि आवेदन दिएको उल्लेख गर्नुभयो ।
त्यसैगरी क्याम्पस प्रमुख शान्त बहादुर केसीले गौरीशङ्कर क्याम्पसले विद्यार्थीलाई पाठ्यक्रमले तोकेको विषयमा मात्र नभई इच्छा लागेको सिप सिकाउने, अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र गरिखाने विद्यार्थी उत्पादन गर्न जोड दिएको बताउनुभयो । उहाँले एउटा योग्य नागरिक निर्माण गर्नका लागि क्याम्पस लागि परेको भन्दै विद्यार्थीलाई मेहनत र अनुशासन कायम राख्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा स्वतन्त्र विद्यार्थी युनियन गौरीशङ्कर क्याम्पसका सचिव राजेन्द्र भुजेलले विद्यार्थीको हकहितका लागि स्वतन्त्र विद्यार्थी युनियन सधैँभरी साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरेका छन् । सोहि अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा ८५ जना नवआगन्तुक विद्यार्थीहरुको रक्त समूह परीक्षण गरिएको छ ।