दोलखा । च्यामा–काठमाण्डौं सेवा समाजको आयोजनामा पालिकास्तरीय दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबारदेखि तामाकोशी गाउँपालिका–६ च्यामामा सुरु भएको छ ।
तामाकोशी गाउँपालिकाको मुख्य सहयोग तथा महेन्द्र माध्यामिक विद्यालयको व्यवस्थापनमा आयोजित शिविरको गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले उद्घाटन गनुभयो । शिविर उद्घाटन गर्नुहुँदै पालिका अध्यक्ष केसीले स्वस्थ नागरिकले मात्र राज्यको लागि योगदान गर्न सक्ने भएकोले गर्भमा रहेदेखि नै राज्यले लगानी गर्ने गरेको बताउनुभयो ।
च्यामा–काठमाण्डौं सेवा समाजका अध्यक्ष इश्वर फुयाँलले काठमाण्डौंमा बसोबास गर्ने च्यामाबासीहरुले स–सानो सहयोग जुटाएर सामाजिक सेवा गर्ने गरेको बताउनुभयो । गाउँमा रहेका नागरिकमा रहेको रोग पहिचान र सामान्य समस्याको उपचार गराएर राहत दिने उद्धेश्यले स्वास्थ्य शिविर आयोजना गरिएको उहाँको भनाई छ ।

शनिबारसम्म सञ्चालन हुने शिविरमा हाडजोर्नी, स्त्रीरोग, आँखा सम्बन्धि समस्यासहित जनरल स्वास्थ्य परीक्षण गरिने आयोजकले जनाएको छ । शिविरको पहिलो दिन करिब ५ सय जनाले सेवा लिएका छन् । शिविरमा धुलिखेल अस्पताल दोलखा, लालीगुराँस सामुदायिक अस्पताल बुस्ती, नेपाल रेडक्रस सोसाईटी लगायतको प्राविधिक सहयोग गरेको छ । त्यसैगरी शिविरमा महेन्द्र माध्यामिक विद्यालय पूर्व विद्यार्थी समाज र विभिन्न सामाजिक व्यक्तित्वहरुको सहयोग रहेको आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिर्जना सुवेदी, वडा नम्बर–६ का वडा अध्यक्ष कृष्ण प्रसाद फुयाँल, महेन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक पवनराज खड्का, च्यामा–काठमाण्डौं सेवा समाजका सल्लाहकार हरि प्रसाद फुयाँल, समाजकी उपाध्यक्ष लक्ष्मी फुयाँल, सचिव शिव कुमार चौलागाँई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
विभिन्न सिलसिलामा काठमाण्डौंमा बसोबास गर्ने च्यामाबासीहरुको साझा संस्थाको रुपमा रहेको च्यामा–काठमाण्डौं सेवा समाजले आर्थिक समस्यामा परेका बिरामी तथा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई सहयोग गर्नेदेखि विभिन्न रचनात्मक सामाजिक गतिविधि गर्दै आईरहेको छ ।