दोलखा । पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत दोश्रो प्राथमिकतामा परेका करिब सात सय व्यक्तिहरुले दोलखामा खोप लगाएका छन् ।
कोरोना संक्रमणको जोखिममा रहेर खोप लगाउन दोश्रो प्राथमिकतामा परेका ६ सय ६३ जनालाई ४ दिनको अवधिमा कोरोना विरुद्धको खोप लगाईएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । फागुन २ गतेबाट शुरु भएको अभियानमा पहिले छुटेकासहित ६ सय ६३ जनाले चरिकोट, जिरी र सिँगटी गरी जिल्लाका तीनवटा खोप केन्द्रमार्फत खोप लगाएका हुन् ।
खोप लगाउनेहरुमा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी ९० जना, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी २ सय ६२, निजामति सेवाका कर्मचारी ९० जना र जनपथ प्रहरी ५१ जना रहेका छन् । त्यसैगरी बोर्डरमा खटिने शसस्त्र प्रहरी १५ जना, बैंक तथा वित्तिय संस्थाका कर्मचारी ८३ जना, प्राधिकरण र संस्थानका कर्मचारी ४५ जनाले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । १७ जना न्याय सेवाका कर्मचारी तथा ९ जना पत्रकारले समेत यो अवधिमा खोप लगाएका हुन् ।
भिमेश्वर नगरपालिका तथा तामाकोशी, मेलुङ र शैलुङ गाउँपालिकाका लक्षित वर्गलाई चरिकोट अस्पताल, चरिकोट र जिरी नगरपालिका तथा बैतेश्वर गाउँपालिकाका लक्षित वर्गलाई जिरी अस्पताल, जिरीबाट खोप सेवा प्रवाह भईरहेको छ । त्यसैगरी कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिकाका लक्षित वर्गलाई सिँगटी प्राथमिक अस्पताल, सिँगटीबाट खोप लगाउने व्यवस्था गरिएको छ । यो चरणको खोप अभियान फागुन ८ गतेसम्म संचालन हुने कार्यतालिका रहेको छ । तोकिएको खोप केन्द्रबाट खोप सेवा लिन स्वास्थ्य कार्यालयले सबै लक्षित वर्गलाई आग्रह समेत गरेको छ ।
बुधबार जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटी, मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का, नापी कार्यालयका प्रमुख राजु पुरी लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुले चरिकोट अस्पतालबाट खोप सेवा लिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
मंगलबार तामाकोशी गाउँपालिका दोलखाका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय गाउँपालिका महासंघ बागमति प्रदेशका अध्यक्ष इश्वरचन्द्र पोखरेल लगायतले खोप लगाउनुभएको थियो ।