काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलाप सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण फैलिन नदिन गरिएको तयारीबारे जानकारी गराएको हो। कोरोना भाइरस प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडानहरू महामारीको अवधिभरि बन्द गर्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई उधृत गर्दै सेतोपाटी डटकमले खबर प्रकाशित गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको रणनीति
मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा ‘पकेट एरिया लक डाउन’ गर्ने उल्लेख छ । जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेशसमेत रहने छन् । त्यसैगरी, कोभिड–१९ प्रभावित मुलुकहरूमा नेपालबाट हुने हवाइ उडान महामारी अवधिभरको लागि स्थगन गरिने सरकारको रणनीति छ ।
स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाका बन्द गर्ने, अत्यावश्यक सामाग्रीबाहेक अन्य वस्तुको आयात–निर्यात पनि महामारी अवधिभर बन्द उल्लेख गरिएको छ । देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति, आवश्यक उपकरण र प्रविधिको अधिकतम परिचालन गर्ने सरकारको योजना छ । आवश्यक परे फिल्ड तथा मोबाइल अस्पतालको स्थापना गरी उपचार गरिनेसमेत योजनामा छ।
सरकारले कोरोना फैलिन नदिन गरिरहेको काम
प्रवक्ता देवकोटाका अनुसार सबै अस्पतालमा शंकास्पद बिरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था गरिएको छ । त्यस्तै हब तथा स्याटेलाइट अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ । बिरामीको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमाण्ड सिस्टम तयारी अवस्थामा राखेको, प्रादेशिक अस्पतालबाट आइसोलेन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक गरी राखिएको, आवश्यकता अनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत राखिएको उहाँको भनाइ छ । उच्च संक्रमित देशहरुबाट आउने नेपालीहरु साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक जाँच गरी घरमै क्वारेन्टिनमा रहन निर्देशन दिइएको र अनुगमन भइरहेको देवकोटाले जानकारी दिनुभयो ।
विदेशस्थित कुटनीतिक नियोग तथा दूतावासमार्फत त्यहाँ रहेका नेपालीहरुलाई लक्षित गरी स्वास्थ्य सचेतना सम्बन्धी सूचना प्रभाव गरिएको, भारतसँग जोडिएका सीमावर्ती प्रवेश नाकामा आपतकालीन अवस्थामा क्वारेन्टिन गर्न आवश्यक पर्ने स्थान र संरचनाको योजना बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा जनहितका सूचनासहितको स्वास्थ्य बुलेटिन जारी गरिरहेको उहाँले बताउनुभयो ।