दोलखा । मङ्गलबार अर्थात असार २१ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको ‘प्रतिभा डबली’ मा भीमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का दोश्रो स्थान हाँसिल गर्न सफल हुनुभयो ।
नेपालको प्रशासनिक क्षेत्रको सुधारका लागि निजामती कर्मचारीबाट प्रस्तुत भएका नविनतम विचारहरु (ईनोभेटिभ आईडिया) मध्ये खड्काको विचारले दोश्रो स्थान पाएको हो । निजामती कर्मचारीमा खरिदारदेखि सह–सचिवसम्मका कर्मचारीले आयोजक समक्ष प्रस्तुत गरेका विचारहरुमध्ये उपसचिव खड्काको विचारले दोश्रो स्थान पाएको हो ।
४० हजार रुपैयाँ नगदसहित दोश्रो पुरस्कार पाउनुभएका खड्काले प्रस्तुत गर्नुभएको नयाँ विचार के थियो भन्ने कुरा धेरै मानिसहरुलाई थाहा नहुन सक्छ । यसै कारणले खड्काको विचार के हो भन्ने जिज्ञासा धेरैलाई छ ।
राज्यको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको कर तिर्नका लागि कार्यालय धाउँदा नागरिकले पाउने सास्ती र त्यसलाई समाधान गर्न राज्यले अपनाउनुपर्ने उपायसँग खड्काको नयाँ विचार सम्बन्धित छ । भिलेज खबरलाई खड्काले दिनुभएको जानकारी अनुसार खासगरी नागरिकले राज्यलाई तिर्ने कर अनलाईन प्रणालीबाट तिर्न मिल्ने व्यवस्था गर्नु रहेको छ ।
कर तिर्न सम्बन्धित कार्यालयमा जाँदा सेवाग्राहीले धेरै झन्झट व्यहोर्नु परेको र कर तिरेकोमा गर्व गर्ने अवस्था नबन्नुले करदातामा आत्मासम्मान नभएको खड्काको भनाई छ । करदाताको सम्मानका लागि पनि सहज रुपमा घरमै बसेर कर तिर्न सक्ने वातावरण बनाउनपर्ने खड्काले बताउनुभयो ।
ईन्टरनेटको पहुँच भएको ठाउँबाट स्मार्ट फोनकै प्रयोग गरेर मोबाईल बैंकिङमार्फत कर तिर्न सकेमा करदातालाई सहज हुनुको साथै राज्यले कम प्रशासनिक खर्चमा धेरै कर संकलन गर्न सक्ने खड्काको विचार छ ।
मन्त्रालयले आईडिया स्टुडियोसँगको सहकार्यमा ‘सुशासनका लागि नविन सोच÷प्रतिभा’ भन्ने नाराका साथ आयोजना गरेको कर्मचारीका लागि नविन सोच ÷इनोभेटिभ आईडिया प्रस्तुतीका लागि प्रतिभा डबलीमा ३५ वटा नयाँ विचार प्रस्तुत भएका थिए । उत्कृष्ट १० मा पर्न सफल खड्काको विचारले अन्तिम चरणमा दोश्रो स्थान हाँसिल गर्न सफल भएको हो ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–६ (साविक च्यामा गाविस) स्थायी ठेगाना भएका खड्का २०६१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको हो । २०७२ सालमा उपसचिव हुनुभएका खड्का हाल भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । गोल्मेश्वर मावि मालुबाट प्रवेशिका परिक्षा उत्तिर्ण गर्नु भएका खड्का अब्बल विद्यार्थी हुनुहुन्थ्यो । खड्काले निजामती सेवा प्रवेश गर्नुअघि एक दशक विज्ञान शिक्षकको रुपमा अध्यापन समेत गर्नुभएको थियो ।