दोलखा । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक बर्ष प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका ‘प्रदेय’ आईतबार सार्वजनिक भएको छ ।
चरिकोटमा आयोजित समितिको ११ औं बार्षिक साधारणसभा कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भरत केसीले ‘प्रदेय’ को नयाँ अङ्क सार्वजनिक गर्नुभएको हो । पत्रिकाको सार्वजनिक गर्नुहुँदै प्रदेशसभा सदस्य केसीले कला, संस्कृति र साहित्यले समाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो । केसीले आफू भीमेश्वर नगरपालिकाको प्रमुख हुँदा दोलखाको संस्कृति र साहित्यलाई ललितपुर र जनकपुर नगरसम्म बिस्तार गरेको स्मरण गर्नुभयो ।
पत्रिकामा दर्जनौं स्रष्टाहरुका कथा, कविता, नियात्रा, गजल लगायतका सिर्जनाहरु प्रकाशित भएका छन् ।
समितिका संरक्षक दोलखाका अग्रज पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्म दिने आमाहरुको सम्मानमा वितरण गर्दै आउनुभएको विष्णुलक्ष्मी/तुल्सीमाया साहित्य सम्मान २०७९ बाट साहित्यकार रविन्द्र तामाङ सम्मानित हुनुभएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ चोथाङका तामाङले आफ्ना सिर्जनामार्फत नेपाली साहित्य क्षेत्रमा योगदान गरेको भन्दै समितिले नगद सहित सम्मान गरेको हो । समिति संरक्षक मास्केले हरेक बर्ष माघ १ गते आफ्नो जन्मदिनको अवसर पारेर समितिमार्फत पत्रिका सार्वजनिक तथा पुरस्कार वितरण गर्दै आउनुभएको छ ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष तथा कवि बिष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ, उपाध्यक्ष गायत्री आचार्य, पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, प्रमुख जिल्ला अधिकारी भोजराज खतीवडा, दोलखा साहित्य प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दिपशंकर चौलागाँई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।