दोलखा । ‘क्यानभासमा मेलुङ’ नामक एक दिवसीय चित्रकला प्रदर्शनी बुधबार चरिकोटमा सम्पन्न भएको छ ।
मेलुङ गाउँपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यहरूलाई चित्रमार्फत उजागर गर्ने उद्देश्यसहित गुम्बा, मन्दिर, कृषि, जीवनशैली, संस्कृति र पर्यटकीय स्थलहरूलाई कलात्मक ढंगमा उतारिएका चित्र तथा तस्बिर प्रदर्शन गरिएको हो । कला संस्कृति र पर्यटन प्रवद्र्धनको लागि आयोजित प्रदर्शनीमा लालकाजी तामाङ, एनबि गुरुङ, डिबी राई, डिबी भण्डारी, किशोर नकर्मी, विक्कु थापा, रुद्र पुन, रुपक राई, रसिक राज, ओम गुरुङ, मनरा श्रेष्ठ, विनोद लिम्बु, रमिला महर्जन, जीवन तामाङ, विक्रम तामाङ, विक्रम मोक्तान र गोकुल श्रेष्ठ लगायतका कलाकारहरुले मेलुङ गाउँपालिकाको जीनशैली र पहिचानलाई क्यानभासमा उतारेका छन् ।
प्रदर्शनीमा राष्ट्रिय कलाकारहरुद्वारा तयार पारिएका २८ ओटा क्यानभास र १७ ओटा तस्बिर राखिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा राखिएका क्यानभास र तस्बिरको विभिन्न क्षेत्रका व्यक्तित्वहरुसहित ठूलो संख्यामा विद्यार्थीहरुले अवलोकन गरेका छन् ।
मेलुङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा चरिकोट मिडिया फाउण्डेशनको व्यवस्थापनमा चित्रकला प्रदर्शनी भएको हो । जिल्लामा चित्रकलाको प्रचारप्रसार र महत्व दर्शाउन प्रदर्शनी आयोजना गरिएको प्रदर्शनी व्यवस्थापक चरिकोट मिडिया फाउण्डेसनका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो ।