दोलखा । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनका लागि दोलखामा प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिएपछि केहि उम्मेद्वारहरुले असन्तुष्टी जनाएका छन् ।
१२ गते मतदान गर्ने निर्वाचन तालिका सार्वजनिक भएको भएपनि सहमति जुटाएको भन्दै मङ्गलबार राति नामावली घोषणा गरिएपछि महाधिवेशन प्रतिनिधिका केहि उम्मेद्वारहरुले सामाजिक सञ्जालमार्फत असन्तुष्टी जनाएका छन् । आफूहरुलाई कुनै जानकारी नदिई सहमति जुटेको भन्दै अन्य व्यक्तिहरुको नाम महाधिवेशन प्रतिनिधिको रुपमा सार्वजनिक गर्नु पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अपमान भएको उनीहरुको धारणा छ ।
असन्तुष्टी व्यक्त गर्ने महाधिवेशन प्रतिनिधिको उम्मेद्वारहरुमा युवा समूहका नोर्बु शेर्पा, खस आर्य समूहका गोकर्ण प्रसाद भण्डारी, पेशागत समूहका गीताकृष्ण शर्मा लगायत दर्जनौं रहेका छन् । अर्कोतिर महाधिवेशन प्रतिनिधिका आकाक्षीहरुलाई महासमिति सदस्यको रुपमा नामावली सार्वजनिक भएपछि उनीहरुले समेत आक्रोश व्यक्त गरेका छन् ।
विधान अनुसार महाधिवेशन प्रतिनिधि भएको व्यक्ति मात्र महासमितिमा हुने भएपनि पार्टी नेतृत्वले अवैधानिक रुपमा महासमिति सदस्यमा सिफारिस गरेको नेपाल विद्यार्थी सङ्घ दोलखाका अध्यक्ष सौगात थापाले बताएका छन् । अवैधानिक पद आफूले स्वीकार नगर्ने थापाले सामाजिक सञ्जालमै उल्लेख गरेका छन् । त्यस्तै महासमिति सदस्यमा नाम घोषणा भएका निवर्तमान महासमिति सदस्य आङनिमा शेर्पाले अवैधानिक पदमा नरहने घोषणा गरेका छन् ।
त्यसैगरी सहमतिको नाममा आफूहरुले नाम नअटाउने छनक पाएपछि प्रदेशसभा २ क्षेत्रीय सभापति पदका उम्मेद्वार रहेका पदमराज पाठकसहित केहि महाधिवेशन प्रतिनिधिका उम्मेद्वारहरुले मङ्गलबार विहानै निर्वाचन समितिमा निर्वाचन गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
नेताहरु जिपछिरीङ लामा, अजयबाबु शिवाकोटी र जिल्ला सभापति बर्मा लामाको टोलीले सर्वसम्मत भन्दै नाम घोषणा गराएका हुन् ।