काठमाण्डौं । ओजस थिएटरको उत्पादन नाटक ‘मृत्यु कुण्ड’ वैशाख २० गते बुधबारदेखि प्रदर्शन हुने भएको छ ।
वैशाख २० देखि जेठ १५ गतेसम्म काठमाण्डौं रातोपुलस्थित ओजस थिएटरमा ‘मृत्यु कुण्ड’ मञ्चन गर्न लागिएको ओजस थिएटर एण्ड फिल्म स्टुडियोका प्रबन्ध निर्देशक सागर कार्कीले भिलेज खबरलाई जानकारी दिनुभयो । रविन दोङको लेखन तथा निर्देशन रहेको नाटक प्रमोद बाबुले निर्माण गर्नुभएको हो ।
देशभित्रै केहि गर्नुपर्छ भन्ने सोच बोकेका युवाहरु नै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक परिस्थितीलाई नाटकले उजागर गर्न खोजेको निर्देशक दोङले बताउनुभयो । वैदेशिक रोजगारीकै सिलसिलामा मानिसहरुले ज्यान गुमाउनुपर्ने तीतो यथार्थलाई समेत नाटकमा देखाउन खोजिएको छ ।
नाटकमा विशाल महर्जन, अजय बान्तवा राई, सबिना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदिप शिवाकोटी र सानुमाया तामाङको अभिनय छ । त्यसैगरी निस्वम थापा मगर, बिटी महर, गोबिन्द टिआर, हेमन्त लामिछाने, बसन्त पोखरेल, विरेन्द्रसिंह कुसुवाह, ओसन कार्की, एचबि मगर, एलिसा न्यौपाने, शेखर ओजस र श्याम कार्कीले पनि नाटकमा अभिनय गरेका छन् ।
नाटक बिहिबार बाहेक हरेक दिन साँझ ५ः१५ बजेदेखि मञ्चन हुनेछ भने बुधबार र शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ । ३ सय रुपैयाँ टिकट शुल्क तोकिएकोमा विद्यार्थीले भने २ सय ५० रुपैयाँ तिरेर हेर्न पाउनेछन् ।
गत भदौ महिनामा मञ्चन भएको नाटक ‘असुर’ को सफलतासँगै ओजसले नाटक ‘मृत्यु कुण्ड’ को मञ्चन गर्न लागेको हो ।