काठमाण्डौं । मंसिर २६ गतेदेखि ओजस थिएटर एण्ड फिल्म स्टुडियो रातोपुलमा नाटक ‘कर्तव्य’ प्रदर्शन हुने भएको छ ।
कथाकार गुरुप्रसाद मैनालीले लेख्नुभएको कथा ‘कर्तव्य’ लाई नाटकमा रुपान्तरण गरेर प्रदर्शन गर्न लागिएको नाटकका परिकल्पनाकार तथा निर्देशक रविन दोङले जानकारी दिनुभयो । नाटकले मानव जीवनमा नैतिकता र कर्तव्य बोधको महत्वलाई उजागर गर्ने प्रयास गरेको छ ।
मंसिर २६ गतेदेखि आगामी पुस ११ गतेसम्म १६ दिन नाटक प्रदर्शन गरिने थिएटर सञ्चालक समितिका सचिव उदिप शिवाकोटीले भिलेज खबरलाई बताउनुभयो । उहाँका अनुसार कक्षा १० को नेपाली विषयमा अध्यापन हुँदै आएको कथालाई नाटकमा रुपान्तरण गरेर विद्यार्थीहरुलाई मनोरञ्जनसँगै पाठ्यबोध क्षमता अभिबृद्धि गर्ने लक्ष्य लिईएको छ ।
रविन दोङ र विशाल महर्जनको संयुक्त परिकल्पना तथा निर्देशनमा रहेको नाटकमा विशाल महर्जन, राजु खतिवडा, शेखर दाहाल, सविना तामाङ, सुवास राई, एलिसा न्यौपाने, एचवि मगर, विरेन्द्र कुश्वाहा, शुक्र मगर, सानुमाया तामाङ, पङ्कज सार्की, असन थिङ, उज्वल कुलुङ राई, गोविन्द टिआर, प्रदिप विश्वकर्मा, अञ्जना दुलाल लगायतको अभिनय रहेको छ ।
ओजस थिएटरले बर्षौदेखि सामाजिक क्षेत्रका जल्दाबल्दा विषयलाई नाटकमार्फत उजागर गर्दै सचेतीकरण र खबरदारी गर्दै आईरहेको छ । नाटक हरेक बिहीबार बाहेक हरेक दिन दिउँसो ३ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे प्रदर्शन हुनेछ ।