दोलखा । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरुलाई एकिकृत गर्ने उद्धेश्यले ‘गौरीशङ्कर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाज’ गठन गरिएको छ ।
शनिबार काठमाण्डौंमा आयोजित भेलाले पूर्व विद्यार्थी राम बहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षहरु चन्द्रगणेश काफ्ले र तारा तामाङ, सचिव सविना केसी, सह–सचिव रामकृष्ण ढुङ्गेल रहनुभएको छ ।
त्यसैगरी समितिको सदस्यहरुमा इन्दिरा बस्नेत, गौरी कार्की, पूर्ण बहादुर खत्री, कविता शिवाकोटी, माधव खड्का, हिमाल खत्री, कमल प्रसाद सुवेदी, कामना रोका, सन्तोषी श्रेष्ठ, अर्जुन सुवेदी र कविता दाहाल रहेका छन् । भेलाले शरण बहादुर केसीको नेतृत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
विगतमा गौरीशङ्कर क्याम्पस चरिकोटमा अध्ययन गरी हाल विभिन्न पेशा, व्यवसायमा संलग्न पूर्व विद्यार्थीहरुको भेलामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउत, क्याम्पस प्रमुख शान्त केसी लगायत पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसैबिच शनिबार बसेको नवगठित ‘गौरीशङ्कर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाज’ को बैठकले क्याम्पसले सञ्चालन गरेको छात्रवृत्ति अक्षय कोष र मृगौला रोग पिडित स्नातक तहमा अध्ययनरत छात्रा मिरा खुलालको उपचारका लागि सहयोग सङ्कलन अभियान चलाउने निर्णय गरेको छ । त्यस्तै गरी क्याम्पसमा रहेको पुस्तकालयलाई पुस्तक सहयोग गर्ने, क्याम्पसका पूर्व विद्यार्थी तथा पूर्व प्राध्यापकलाई पुनर्मिलनका लागि वनभोज कार्यक्रम आयोजना गर्ने लगायतका निर्णय गरेको छ ।