दोलखा । तामाकोशी गाउँपालिका वडा नम्बर–५ किर्नेमा रहेको खिम्ती प्रोजेक्ट स्कुलका प्रिन्सिपल खिला बहादुर अछामीले विद्यालयको आर्थिक स्रोतको चरम दुरुपयोग गरेको पाईएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम भट्टसँगको मिलेमतोमा प्रिन्सिपल अछामीले विद्यालयको आर्थिक स्रोत चरम दुरुपयोग गरेको स्थानीयको आरोप छ । छात्रवृत्ति वितरणमा अनियमितता लगायत विद्यालयको आर्थिक कारोबारको पारदर्शीताका विषयमा अभिभावकले गुनासो गरेपछि प्रिन्सिपल अछामीको कर्तुत बाहिर आएको हो ।
अभिभावकको गुनासोको आधारमा वडा अध्यक्ष शम्भु फुयाँलले २०८२ वैशाख २१ गते ३ दिनको समय दिएर विद्यालयको लेखा परिक्षण प्रतिवेदन, छात्रवृत्ति वितरणको विवरणसहितका आर्थिक विवरण माग गरेर पत्र पठाउनुभयो । कुनै विवरण नआएपछि वडा अध्यक्ष फुयाँलले पुनः वैशाख २८ गते ताकेता पत्र पठाउनुभयो । तर यो समाचार तयार गर्दै गर्दा २०८२ जेष्ठ १५ गतेसम्म पनि कुनै उत्तर नआएको वडा अध्यक्ष फुयाँलले भिलेज खबरलाई जानकारी दिनुभयो ।

विवरण माग गरिएको पहिलो पत्र

विवरण माग गरिएको ताकेता पत्र
विद्यालयको नेतृत्व आर्थिक चलखेलमा लागेपछि विद्यालयमा शैक्षिक गुणस्तर खस्किँदै गएको अभिभावकहरुको गुनासो छ । एकातिर विगतका बर्षहरुमा एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट हुँदै आएको विद्यालय पछिल्ला बर्षहरुमा गुमनाम जस्तै छ भने अर्कातिर पछिल्लो समय विद्यार्थीको संख्या घट्दोक्रममा रहेको तथ्याङ्कले देखाएको छ । प्रिन्सिपल अछामीले विद्यालयको नेतृत्व लिँदै गर्दा २०७६ सालमा ४ सय ६६ जना विद्यार्थी रहेकोमा हाल ३ सय ७६ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखले देखाएको छ ।
विद्यालयको विधान अनुसार प्रिन्सिपलको ३ बर्षे कार्यकाल रहने व्यवस्था छ । दुई कार्यकाल विद्यालयमा नेतृत्व गरिसकेका अछामी शैक्षिक गुणस्तर बढाउनुको सट्टामा अवैधानिक रुपमा आफ्नै व्यक्तिगत आर्थिकस्तर बढाउन लागि परेको देखिन्छ । हिमाल पावर लिमिटेडको ७० प्रतिशत लगानीमा सञ्चालित विद्यालयमा पछिल्ला बर्षमा कार्यरत कर्मचारीको संख्या घटेको भएपनि त्यस बापतको आर्थिक बचत र अन्य कारोबार समेत पारदर्शी नदेखिनुले अभिभावकहरुको आरोप तथ्यमा परिणत भएको छ । अझ रोचक त के छ भने अछामीका सहोदर भाइ प्रेम अछामी विद्यालयको लेखापालको रुपमा कार्यरत छन् ।
हिमाल पावर लिमिटेडको ठूलो लगानी रहेको यस विद्यालयमा कम्पनीले आफ्नै प्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने गरेको छ । हालको समितिका अध्यक्ष श्याम भट्टले प्रिन्सिपल अछामीलाई संरक्षण गरेको पाईएको छ । संरक्षण नगरुन् पनि कसरी जो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्ट, प्रिन्सिपल अछामी र लेखापाल अछामी तीनैजना एकै जिल्ला गोरखाका हुन् । जसका कारण प्रिन्सिपल अछामीले दुई कार्यकाल विद्यालयको नेतृत्व गरिसकेर पनि फेरी एक बर्षका लागि म्याद थप गराउन सफल भएका छन् ।
अभिभावकको गुनासोको आधारमा वडा अध्यक्ष शम्भु फुयाँलले आर्थिक विवरण माग गरेर पटक पटक पत्र पठाएपछि प्रिन्सिपल अछामी आफ्नो कर्तुतलाई ढाकछोप गरेर आफ्नो पद जोगाईराख्न नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुको दैलो ढकढकाईरहेका छन् । प्रिन्सिपल अछामीले आफू तीन बर्षदेखि भक्तपुर दुवाकोटमा बसेर स्थानीय काङ्ग्रेस नेता शिवहरी खड्कालाई भोट हालेको दाबीसहित स्थानीय काङ्ग्रेस नेतासँग गुहार मागेको अडियो भिलेज खबरलाई प्राप्त भएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट निर्वाचित तामाकोशी गाउँपालिका वडा नम्बर–५ शहरेका वडा अध्यक्ष शम्भु फुयाँलले आर्थिक विवरण मागेपछि माओवादीकै स्थानीय नेता उद्धब खातीलाई च्याट गरेर प्रिन्सिपल अछामीले आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । यति मात्रै होईन् वडा अध्यक्षलाई इङ्गित गर्दै “शम्भुजीले मलाई निकाल्ने भो म दुवै पत्र माओवादीका नेताहरु विशाल सर अर्थात विशाल खड्का, विश्व सर अर्थात माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभाका सांसद गंगा कार्की विश्व, शिक्षक संगठन, रेनु दहाल र नारायणकाजी अर्थात नारायणकाजी श्रेष्ठलाई पठाउँछु” भन्ने धम्की समेत दिएका छन् ।

प्रिन्सिपल अछामीको नेता फकाउने प्रयास भने जारी नै देखिन्छ । केहि समयअघि मात्रै रामेछापका काङ्ग्रेस नेता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य पदम माझीकी बुहारी मञ्जु कुमारी माझीलाई बिना प्रतिस्पर्धा शिक्षक नियुक्त गरेको घटनाले बोल्नेका मुखमा बुझो लगाउन अछामी माहिर छन् भन्ने बुझ्न कुनै दुविधा छैन ।
पटक पटक ताकेता गर्दा समेत स्थानीय सरकारलाई विद्यालयको आर्थिक विवरण उपलब्ध नगराउनुले विद्यालयमा करोडौं रकम भ्रष्टाचार भएको वडा अध्यक्ष फुयाँलको दाबी छ । दोस्रो पटक पत्र पठाएको १८ दिन बितिसक्दा समेत कुनै प्रतिउत्तर नआएपछि अब पालिकाको शिक्षा ऐन बमोजिम शिक्षा समितिको बैठक बसेर विद्यालयलाई आवश्यक कारबाहीको लागि सिफारिस गर्ने वडाको तयारी रहेको छ । अभिभावकहरु भने अख्तियार जाने तयारीमा रहेको बुझिएको छ ।
प्रिन्सिपल अछामीले नेपाली काङ्ग्रेसका नेतासँग गरेको कुराकानीको अडियोसहितको पूरा समाचार माथि दिईएको भिडियो लिङ्कमा क्लिक गरेर हेर्न तथा सुन्न सक्नुहुन्छ ।