दोलखा । दोलखामा माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अघिल्लो बर्षभन्दा केहि सुधार भएको पाईएको छ ।
असार १३ गते सार्वजनिक भएको नतिजा अनुसार दोलखाका ५४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । कुल २ हजार १ सय ५४ जनाले परीक्षा दिएकोमा विभिन्न जिपिएसहित १ हजार १ सय ६५ जना उर्तिण भएका हुन् । गतबर्ष ३५ प्रतिशत मात्र विद्यार्थी उर्तिण भएका थिए ।
सामुदायिक विद्यालयतर्फ दोलखाका नौ ओटा पालिकामध्ये विगु गाउँपालिकाको नतिजा सबैभन्दा उत्कृष्ट रहेको छ भने मेलुङ गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ । विगुबाट ११ ओटा विद्यालयबाट १३२ जना विद्यार्थीले परीक्षा दिएकोमा १०४ जना विद्यार्थी उत्तिर्ण भएका छन् भने २८ जना अनुत्तिर्ण भएका छन् । अझ रोचक त के छ भने गत बर्ष जिल्लामा सबैभन्दा कमजोर नतिजा ल्याएको विगु गाउँपालिका यस बर्ष पालिकाभित्रका ५ ओटा विद्यालयबाट शतप्रतिशत नतिजासहित कुल ७९ प्रतिशत विद्यार्थी उर्तिण गराएर जिल्लाभरीको नतिजामा सबैभन्दा उत्कृष्ट हुन सफल भएको हो ।
मेलुङ गाउँपालिका भने २ ओटा विद्यालयको शुन्य (निल) नतिजासहित ३०.७० प्रतिशत विद्यार्थी उर्तिण गराएर जिल्लाको सबैभन्दा कमजोर पालिका बनेको छ । त्यसैगरी बैतेश्वर गाउँपालिका वडा नम्बर २ गैरीमुदीमा रहेको जनज्योति माविले शतप्रतिशत नतिजा ल्याएपछि ७४.६४ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर जिल्लाको दोश्रो पालिका बन्न सफल भएको छ ।
शैलुङ गाउँपालिका वडा नम्बर ४ मा रहेको मागापौवा माविले शतप्रतिशत नतिजा ल्याएपछि शैलुङ गाउँपालिकाले ५८.९६ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर जिल्लाको तेश्रो पालिका बनको छ । जिरी नगरपालिकास्थित जिरी माविले शतप्रतिशत नतिजा ल्याउएपछि जिरी नगरपालिकाले ५७.४४ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर जिल्लाको चौथो पालिका बन्न सफल भएको छ ।
कालिञ्चोक गाउँपालिका ५२.२१ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर जिल्लाको पाँचौं, गौरीशङ्कर गाउँपालिका ५०.४० प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर जिल्लाको छैटौं पालिका, भीमेश्वर नगरपालिका ३९.५८ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर सातौं तथा ३५.८५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर तामाकोशी गाउँपालिका जिल्लाको आठौं पालिका बनेको छ ।
सामुदायिक विद्यालयतर्फ जिरी माविका सौगात जिरेल र हनुमन्तेश्वर माविका पुन भट्टराईले ३.८४ जिपिए प्राप्त गर्न सफल भएका छन् । संस्थागत विद्यालयतर्फ सहीद स्मृति मावि जिरीका सुरज केसीले सबैभन्दा धेरै ३.९५ जिपिए प्राप्त गर्न सफल भएका छन् । जिल्लाभरीका ११ ओटा संस्थागत विद्यालय रहेकोमा उत्तिर्ण प्रतिशत ८४.५० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।