दोलखा । उच्च गुणस्तरीय नेपाली ब्रान्डको रुपमा परिचित सोनाम गियरले सोमबार गौरीशङ्कर गाउँपालिका वडा नम्बर–७ मार्बुस्थित हिमवर्ती माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
एक कार्यक्रमकाबिच सोनाम गियरका अध्यक्ष टासी छोम्बे नेपालीले १ सय ६० जना विद्यार्थीलाई स्वेटर, टोपी, सर्ट, पाइन्ट, जुत्तासहित विद्यालयको पोसाक सेट वितरण गरेको विद्यालयका प्रधानाध्यापक शुव शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार मार्बु निवासी समाजसेवी तथा शिक्षाप्रेमी पासाङ्मु शेर्पाको पहलमा सोनाम गियरले विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको हो ।
कपडा वितरण कार्यक्रममा सोनाम गियरका अध्यक्ष टासी छोम्बे नेपालीले दुर्गम भेगका विद्यार्थीलाई जाडोको समयमा आफूले सकेको सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनाम गियरले महिला, बालबालिका र पुरुषका लागि ज्याकेट, ट्राउजर, सर्ट, पाईन्ट, पञ्जा, जिम सेट, स्वेटर, कोटसहित ट्रेकिङ र हाइकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत कपडा उत्पादन गर्ने गरेको छ ।