काठमाण्डौं । च्यामा–काठमाण्डौं सेवा समाजको आयोजनामा दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिता शुक्रबारबाट काठमाण्डौंमा सुरु भएको छ ।
काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिकाको अमरसिंह चौरमा सुरु भएको प्रतियोगिताको सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा आसन्न प्रतिनिधिसभा निर्वाचनका दोलखाली उम्मेद्वारहरु पार्वत गुरुङ, विशाल खड्का, अजयबाबु शिवाकोटी लगायत जिल्लाका विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो दिन लिग चरणका ४ ओटा तथा क्वाटर फाईनलको एउटा खेल सम्पन्न भएको छ । लिग चरण अन्तरगत पहिलो खेलमा आयोजक च्यामा–काठमाण्डौं सेवा समाजलाई पराजित गर्दै गौरीशङ्कर गाउँपालिकाको टिम विजयी भएको छ । दोस्रो खेलमा तामाकोशी गाउँपालिकाको ए टिमलाई पराजित गर्दै जिरी नगरपालिकाको टिम विजयी भएको छ । तेस्रो खेलमा कालिञ्चोक गाउँपालिकाको ए टिमलाई हराउँदै तामाकोशी गाउँपालिकाको शुभारम्भ युवा क्लब विजेता बनेको छ ।
त्यसैगरी चौथो खेलमा कालिञ्चोक गाउँपालिकाको बि टिमलाई हराउँदै मेलुङ गाउँपालिका क्वाटर फाईनल प्रवेश गरेको छ । शुक्रबार नै भएको क्वाटर फाईनलको पहिलो खेलमा गौरीशङ्कर गाउँपालिकालाई पराजित गर्दै कालिञ्चोक गाउँपालिकाको ए टिम सेमीफाईनल प्रवेश गरीसकेको छ । क्वाटर फाईनलदेखि बाँकी सबै खेलहरु शनिबार सञ्चालन हुने खेल संयोजक भविन्द्र फुयाँलले भिलेज खबरलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा ८ ओटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताहरुले प्रथम पुरस्कार ४० हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।