दोलखा । स्थानीय सरोकारका विषयमा गरिएका अनुसन्धानको निष्कर्षको प्रचार तथा छलफल र कार्यान्वय सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार चरिकोटमा सम्पन्न भएको छ ।
चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसद्वारा आयोजित कार्यक्रममा क्याम्पसमा अध्यापनरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्थानीय सरोकारको विषयमा गरेका अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको छ । जसमा चरिकोट बजारमा सङ्घीयताको प्रभाव, विवाद निरुपणमा न्यायिक समितिको भूमिका, सामाजिक सुरक्षा भत्ताको प्रभावकारिता, जिल्लामा सुशासनको अवस्था लगायतका समसामयिक ८ ओटा अनुसन्धानको निष्कर्ष प्रस्तुत भएका हुन् ।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले अनुसन्धानले कुनैपनि विषयको एउटा मात्र पक्ष नभई सबै पक्षलाई समेटेर निष्कर्ष निकाल्नुपर्ने सुझाव दिनुभएको छ । त्यसैगरी भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले नागरिकको चाहाना र स्थानीय सरकारका कार्यक्रमबिच तालमेल नभएको गुनासो आउने गरेको भन्दा त्यस्ता विषयमा पनि अनुसन्धान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केसीले क्याम्पसले गरेका अनुसन्धानका निष्कर्ष सार्वजनिक गरेर जिल्लाका समसामयिक विषयमा ध्यानाकर्षण गराउने उद्धेश्य रहेको बताउनुभयो । उहाँले आगामी जेठमा अनुसन्धान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको समेत जानकारी दिनुभयो । गौरीशङ्कर क्याम्पसले अनुसन्धानमूलक लेखहरुलाई समेटर अर्धवार्षिक रुपमा जर्नल प्रकाशन गर्ने गरेको छ ।
क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाइका संयोजक नारायण प्रसाद सेढाँईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, क्याम्पसका प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।