दोलखा । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी इश्वर नारायण मानन्धरले सामाजिक सङ्घ संस्थामा व्यक्तिगत स्वार्थ नराखी पवित्र भावनाले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यक्तिगत स्वार्थ राखेर काम गर्दा संस्थाको छवि बिग्रने भन्दै उहाँले संस्थागत हितका लागि काम गर्नुपर्ने बताउनुभयो । भीमेश्वर नगरपालिकाले गौरीशङ्कर क्याम्पसलाई सहयोग गरीरहेको र अबका दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले क्याम्पस आर्थिक सङ्कटमै रहेको बेला आफूले नेतृत्व गरेर आर्थिक, भौतिक र संस्थागत रुपमा क्याम्पसलाई सबल बनाएको बताउनुभयो । उहाँले आफ्नो ३ वर्षे कार्यकालमा धेरै कुरा गरेको भएपनि छात्रबास निर्माणसहित शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केसीले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी योजनाहरु प्रस्तुत गर्नुभएको छ । कार्यक्रमको अवसरमा सहायक प्राध्यापकहरु दुर्गा प्रसाद दाहाल र गोमा खत्री तथा उत्कृष्ट कर्मचारीको रुपमा तुलसी नारायण जोशीलाई नगदसहित पुरस्कृत गरिएको छ । त्यसैगरी क्याम्पसमा बर्षभरी भएका विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरु, परीक्षामा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । त्यसैगरी विभिन्न छात्रवृत्ति कोषबाट दर्जनौं विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राउतको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सचिव रमेश श्रेष्ठ, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नेता भीम बहादुर श्रेष्ठ, राप्रपा नेपालका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष प्रभु जिरेल, क्याम्पस सञ्चालक समिति सदस्य शङ्करलाल श्रेष्ठ, गौरीशङ्कर क्याम्पस स्ववियु अध्यक्ष सचिव राजेन्द्र भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।