दोलखा । दोलखा उद्योग वाणिज्य सङ्घको १६ औं अधिवेशनबाट सनत थापा नेतृत्वको सिङ्गो प्यानल नै निर्वाचित भएको छ ।
थापाले निकटतम प्रतिस्पर्धी दिनेश पाठकलाई १ सय ३ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी बन्नुभएको हो । थापाले ४ सय ६२ मत प्राप्त गर्दा पाठकले ३ सय ५९ मत प्राप्त गर्नुभएका थियो ।
थापाको प्यानलबाट बरिष्ठ उपाध्यक्ष प्रविन श्रेष्ठ, उपाध्यक्ष विवेक कुमार खत्री, महिला उपाध्यक्ष कल्पना श्रेष्ठ, महासचिव सुरेश उप्रेती, सचिव अनिल रिजाल, कोषाध्यक्ष रामशरण बस्नेत, दलित सदस्य प्रकाश नेपाली र महिला सदस्य पार्वती भण्डारी रहेका छन् । त्यसैगरी मागादेउराली शाखा सदस्यमा छोनाम्गेल तमाङ, सिँगटी शाखा सदस्यमा रिम बहादुर ओली, तथा खुल्ला सदस्यहरुमा कुमार श्रेष्ठ र राजेश उप्रेती विजयी भएका छन् ।
यसअघि एशोसिएट्स सदस्यमा पुरुषोत्तम बुढाथोकी र मैनापोखरी शाखा सदस्यमा राजन कुमार दाहाल यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
बिहीबार भएको मतदानमा १ हजार २३ मतदाता रहेकोमा ८ सय ३८ मत खसेको थियो । पाठक प्यानलमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काङ्ग्रेसनिकटका व्यक्तिहरु समावेश भएका थिए भने थापा प्यानलमा नेपाली काङ्ग्रेस र नेपाली कम्युनिष्ट पार्टी निकटका व्यवसायीहरु रहेका छन् ।