दोलखा । पछिल्लो समय देशको अर्थतन्त्र खस्किरहेको बेला बजारमा जाली अर्थात नकली नोटको कारोबार हुन थालेको भेटिएको छ ।
केहि दिनअघि दोलखाको जिरीस्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थामा १ सय, ५ सय र १ हजारको नकली नोट फेला परेको संस्थाले जनाएको छ । त्यसैगरी देशका विभिन्न ठाउँमा जाली नोटसहित प्रहरीले केहि व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ ।
आर्थिक मन्दीका कारण पैसा अभाव भएको बेला नक्कली नोटको कारोबार बढ्ने जोखिम रहेको अर्थशास्त्रका जानकारहरुको भनाई छ ।
कसरी चिन्ने सक्कली र नकली नोट ?
आफूसँग भएको नोट सक्कली वा नक्कली भनेर साधारण आँखाले चिन्नको लागि वाटरमार्क, सुरक्षा धागो, गभर्नरको हस्ताक्षर लगायतका कुरामा ख्याल गर्नुपर्ने नेपाल बैंक लिमिटेड, चरिकोट शाखाका खजाञ्ची शंकर महतोले बताउनुभयो । उहाँका अनुसार सक्कली नोटमा भएको वाटरमार्कलाई उज्यालोतिर फर्कार हेदा लालीगुराँसको आकार देखिने, सुरक्षा धागोमा अङ्ग्रजी अक्षर एनआरबि लेखेको देखिने, नोट विस्तारै हल्लाउँदा सुरक्षा धागोको रङ परिवर्तन हुने, गभर्नरको हस्ताक्षर र देवताको फोटो छाम्दा हल्का खस्रो अनुभव हुने गर्दछ ।
त्यसैगरी युभि लाईटको प्रयोग गरेर सजिलै सक्कली र नक्कली नोट छुट्याउन सकिन्छ । त्यसरी हेर्दा नोटमा भएको सगरमाथाको आकृतिको टुप्पोमा जति रुपैयाँको नोट हो त्यति संख्या देखिने, नोटमा भएका अङ्कहरुमा चम्किलो हरियो लाईट देखिने लगायत हुने पनि खजाञ्ची महतोले बताउनुभयो ।