दोलखा । पहिलो पटक कालिञ्चोक क्षेत्रका चौँरीगाईमा लम्पि स्किन रोगको संक्रमण भेटिएको छ ।
कालिञ्चोक कुरीमा ३७ वटा चौँरी पाल्नुभएका भीमेश्वर–१ सुष्पाक्षमावतीका कृषक निमा शेर्पाका आधा दर्जन बढी चौँरी लम्पि स्किन रोगका कारण बिरामी परेका शेर्पाले जानकारी दिनुभयो । कुरीभन्दा केहि तल गैरीबाट करिब एक हप्ता अगाडि घुम्ती गोठमार्फत चौँरी कुरीमा पुर्याए लगत्तै रोग देखिएको उहाँको भनाई छ ।
गत फागुन चैत्रमा ब्याएर फेरी बाली लागिसकेका भएपनि दुध दिईरहेका चौँरीमा संक्रमण देखिएको हो । “नगरपालिकाले पशु प्राविधिक पठाएर उपचार सेवा दिन सकेको छैन, यदि समयमा चौरीले उपचार नपाउने हो भने हामीले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुन्छ”, शेर्पाले गुनासो गर्नुभयो ।
आफूले पालेका २६ मध्ये १५ चौँरी दुहुना भएपनि झण्डै आधाजसो बिरामी परेपछि भीमेश्वर–१ सुष्पाक्षमावतीकी अर्की कृषक किछिरी शेर्पा उत्तिकै चिन्तित हुनुहुन्छ । बर्षा लागेसँगै चौँरीबाट राम्रो दुध उत्पादन गर्ने समयमा चौरी बिरामी परेर भाँडो रित्तो भएपछि आम्दानी शुन्य भएको उहाँको गुनासो छ ।
आफ्नो खेतीपाती, जागिर, व्यवसाय जे भनेपछि जीवन धान्ने सबैथोक चौँरी रहेको उल्लेख गर्नुहुँदै किछिरीले भिलेज खबरसँग भन्नुभयो,“बरु भूकम्प जाँदा हामीलाई आफ्नो ज्यान कसरी जोगाउने भन्ने मात्र चिन्ता थियो, सम्पत्ति क्षति भयो भन्ने थिएन । अहिले त घरबार पुरै डुबान भएजस्तो हुन थालेको छ ।” स्थानीय सरकारले आफ्ना चौँरीको उपचार गरिदेओस भन्ने आशा रहेको भएपनि दिनानुदिन बिरामी चौँरीको संख्या बढीरहँदा चौरीले उपचार नपाएको उहाँको भनाई छ ।
कृषकहरुको गुनासो आधारमा बिहीबार भीमेश्वर नगरपालिकाका पशु प्राविधिक नवराज दाहालसहितको टोली कुरीमा पुगेर केहि बिरामी चौँरीको सामान्य उपचार गरेको छ । तर बिरामी चौरी झन् सिकिस्त हुने र अरु चौँरी समेत बिरामी पर्न थालेपछि चौँरीपालक कृषकहरुले चौँरीको थप र प्रभावकारी उपचार सेवा चाहेका छन् ।
भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाँईले सबैतिर लम्पि स्किन रोग फैलिएको र गुनासो आएको ठाउँमा पशु स्वास्थ्यकर्मीहरु पठाउने गरेको बताउनुभयो । डाक्टरसहितका पशु स्वास्थ्यकर्मी नगरपालिकामा भएपनि थोरै जनशक्ति भएकोले वडामा २ दिन मात्र सेवा दिने गरेकोले भनेको समयमा पुग्न नसकेको हुन सक्ने प्रवक्ता चौलागाँईको भनाई छ ।
घरपालुवा जनावर गाईभैँसीमा महामारीको रुपमा फैलिएको लम्पि स्किन रोग जङ्गली क्षेत्रमा बसोबास गर्ने चौँरीगाईमा पनि देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटका पशु विकास अधिकृत डाक्टर ध्रुब डिसीले पुष्टी गर्नुभयो । उहाँका अनुसार असार २० गतेसम्म जिल्लाभर ३ हजार १ सय ८१ पशु लम्पि स्किनबाट संक्रमित भएका छन भने ५१ पशु मरेका छन् ।
लम्पि स्किन रोग र यसको उपचार सम्बन्धि जानकारीमूलक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।