सिन्धुली । मरिन गाउँपालिका वडा नम्बर–७ क्याम्पसचोकका कृषक गणेश थापाले एकिकृत कृषि व्यवसायबाट वार्षिक रुपमा १० लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ ।
२०७६ सालमा थापा बहुउद्धेश्यीय कृषि तथा पशुपालन फार्म स्थापना गरेर भैँसीपालन, मत्स्यपालन र कृषि खेतीपातीमा लाग्नुभएका थापा हाल एकजना सफल कृषकको परिचय बनाउन सफल हुनुभएको हो । २०७० सालदेखि नै व्यवसायिक कृषिमा लाग्न चाहनुभएका थापा सुरुमा लगानी गर्ने रकम अभाव भएपछि विदेश जान बाध्य भएको थापा बताउनुहुन्छ । करिब ६ बर्ष वैदेशिक रोजगारीमा गएर आफ्नै गाउँमा फर्किएपछि आफ्नो रुची अनुसार पशुपालन तथा कृषिमा संलग्न भएको कृषक थापाको भनाई छ ।
भैँसी पालनबाट दुध उत्पादन गरिरहनुभएका थापाले दुध डेरी सञ्चालन गरेर गाउँले उत्पादन गरेको दुध समेत किनिदिने गर्नुभएको छ । दुध डेरी स्थापना गरेर सङ्कलन गरेको दुधलाई स्थानीय बजारमा बिक्रिी वितरण गरेर आर्थिक आम्दानी गरीरहनुभएको छ । आफूले गरेको उत्पादन स्थानीय छाप बजार, क्याम्पसचोक, धमिले बजार र सिन्धुली बजारमा समेत खपत हुने गरेको थापाले बताउनुभयो ।
त्यसैगरी कृषक थापाले माछापालन पनि गर्नुभएको छ । गाईबस्तुको गोबर माछालाई दानाको रुपमा प्रयोग गर्न सकिने भएकोले एकिकृत रुपमा कृषि तथा पशुपालन फार्म सञ्चालन गरेको थापा बताउनुहुन्छ । उहाँले ५ ओटा भैँसी, २ ओटा गाई र २ ओटा पोखरीमा माछा पालनसँगै खेतीपाती गरीरहनुभएको छ ।
अहिलेको समयमा खेतीपातीमा रासायनिक मल र पशुपालनमा समेत रासायनिक तत्वको प्रयोग बढिरहँदा क्यान्सरको जोखिम बढेकोले प्राङ्गारिक मलको प्रयोगबाट अर्गानिक खेतीपाती गरी क्यान्सरको जोखिम कम गर्न आफूले भैँसी पालन गरेको उहाँको भनाई छ । व्यवसायिक कृषि तथा पशुपालनका लागि सरकारले पर्याप्त सहयोग नगरेको र कतिपय सहयोगका कार्यक्रमको बारेमा जानकारी समेत पाउन मुस्किल हुने थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ अहिले सरकारले दिने सहयोगका सूचना मोबाईलमा आउँछन, वास्तविक किसालले मोबाईल हेर्न पाईराखेकै हुँदैन । अनि कसरी थाहा पाउने सूचना !”
पछिल्लो समय रोजगारीका लागि युवाहरुलाई विदेशमा जति मेहनत गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी गर्न सकिने थापाको सुझाव छ । “हामी विदेशमाचाहिँ जे पनि गर्न तयार हुन्छौं, आफ्नो ठाउँमाचाहिँ यो काम सानो, यो काम ठूलो भन्दै लाज र घिन मान्ने कारणले गर्दा हामी पछाडि परिरहेका छौं, थापाले भन्नुभयो ।”