दोलखा । जिरी नगरपालिका वडा नम्बर–१ पुम्पाका कृषक लाक्पा शेर्पाले गरेको प्रथम पुस्ताको आलुको बिउ उत्पादन सम्बन्धि परीक्षण सफल भएको छ ।
उन्नत टीपीएस–२ जातको आलुको दाना बिउ (फूलमा लागेको फलबाट निकालिएको दाना) प्रयोग गरी पहिलो पुस्ताको आलु बिउ उत्पादन गरिएको कृषक शेर्पाले बताउनुभयो । गत वर्ष शेर्पाले आलुबाली विकास केन्द्र, निगाले, सिन्धुपाल्चोकबाट दाना बिउ खरिद गरेर ल्याई परीक्षणका लागि रोपेकोमा परीक्षण सफल भई आलु फलेको हो ।
“हामी परम्परागत रुपमा आलु खेती गर्दै आएको हुनाले आलुको फूलमा लाग्ने दानाबाट पनि बिउ उत्पादन गर्न सकिन्छ भन्ने थाहा पाएपछि चासो लागेर २० ग्राम दाना बिउ खरिद गरेर ल्याएर रोपेको हो, परिक्षण सफल भएपछि खुसी लागेको छ”, शेर्पाले भन्नुभयो । नयाँ प्रविधिबाट उत्पादन भएको बिउ गुणस्तरीय हुने भएकाले आगामी वर्षमा उत्पादन बिस्तार गर्ने उहाँको योजना रहेको छ ।
गतवर्ष नगरपालिकाबाट उत्कृष्ट कृषकका रूपमा पुरस्कृत भएका शेर्पा नगरपालिकाबाट प्राप्त सम्मानले आफूलाई कृषिमा थप सक्रिय बन्न हौसला दिएको बताउनुहुन्छ । उमेरले ७२ वर्ष पुग्नुभएका शेर्पा दम्पत्ति नै व्यवसायिक रुपमा खेतीपाती गर्दै आएका छन् । कृषक शेर्पा विशेष गरेर आलु तथा किवी खेतीमा संलग्न छन् ।
नगरपालिकाले पुरस्कृत तथा सहयोग गरेका शेर्पाले आधुनिक कृषि प्रविधिको प्रयोग गरेर आलुको बिउ उत्पादन गर्न सफल भएकोमा नगर प्रमुख मित्र बहादुर जिरेलले कृषक शेर्पाको बारीमा पुगेर खुसी व्यक्त गर्नुभयो । ‘क्लिन जिरी, ग्रीन जिरी, अर्गानिक जिरी’ भन्ने नारा लिएर अगाडि बढीरहेको जिरी नगरपालिकाले अर्गानिक कृषि उत्पादनमा जोड दिँदै प्राङ्गारिक मल उत्पादनका लागि पशुपालन र भकारो सुधारसहित रैथाने बाली प्रबद्र्धन कार्यक्रमहरु सञ्चालन गरीरहेको छ ।