दोलखा । पूर्व सञ्चारमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले शैक्षिक संस्थाहरुले पढ्नकै लागि दिनहुँ विदेशीने कलिला उमेरका विद्यार्थीलाई स्वदेशमै राख्न सक्ने खालको शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसको ४३ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै गुरुङले अहिले गौरीशङ्कर क्याम्पसको नेतृत्वमा युवाहरु रहेको उल्लेख गर्नुहुँदै अहिलेको नेतृत्वले राम्रो काम गरेर युवाहले अवसर पाएमा राम्रो गर्छन भन्ने सन्देश दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले विद्यार्थीको अभिरुचीलाई मध्येनजर गर्दै जीवन उपयोगी शिक्षा प्रदान गर्न क्याम्पस तल्लिन भएर लागि परेको बताउनुभयो । त्यसैगरी अध्यक्ष राउतले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले सहज रुपमा शिक्षा हाँसिल गर्ने वातावरण बनाउन छात्रवृत्ति अक्षय कोष निर्माण गर्ने अभियान चलिरहेको उल्लेख गर्नुभयो ।
क्याम्पसको पछिल्लो वस्तुस्थितीबारे क्याम्पस प्रमुख शान्त केसीले क्याम्पसले आफ्ना भौतिक तथा शैक्षिक र प्रशासनिक गतिविधिलाई व्यवस्थित बनाउँदै लगेका कारण केहि महिनाभित्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउने अन्तिम तयारीमा रहेको जानकारी गराउनुभएको छ । उहाँले आगामी बर्षको कार्ययोजनामा १ करोड रुपैयाँ बराबरको छात्रवृत्ति अक्षय कोष स्थापना, रोजगार मेलाको आयोजना, स्नातक तहमा प्रविधिमैत्री शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो ।
अक्षयकोष स्थापना
वार्षिकोत्सवको अवसरमा क्याम्पसका पूर्व सहायक प्राध्यापक स्वर्गीय पुष्करनाथ पोखरेलको सम्झनामा उहाँकी धर्मपत्नी कमलादेवी पोखरेलले ३ लाख रुपैयाँ राशीको छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुभएको छ । जुन कोषबाट बार्षिक रुपमा क्याम्पसमा अध्ययनरत २ जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।
सम्मान तथा पुरस्कार
त्यसैगरी क्याम्पसले क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठ र क्याम्पसका निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धरलाई क्याम्पसमा गरेको योगदानको उच्च कदर गर्दै सम्मान पत्रसहित सम्मान गरेको छ । त्यस्तै पूर्णकालिन उत्कृष्ट प्राध्यापकको रुपमा बालकृष्ण फुयाँल, उत्कृष्ट बर्ष प्राध्यापकको रुपमा समिरा बस्नेत र उत्कृष्ट कर्मचारीको रुपमा प्रमुख लेखा अधिकृत राजकुमार सुवेदीलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको छ ।
साथै बर्षभरी भएका क्याम्पसको प्रचारात्मक भिडियो प्रतियोगिता, भलिबल प्रतियोगिता, टेबलटेनिस प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता लगायत अतिरिक्त क्रियालापका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । त्यसैगरी विभिन्न छात्रवृत्ति पनि प्रदान गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठ, भीमेश्वर नगरपालिकाकी नगर उपप्रमुख कमला बस्नेत, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, सञ्चालक समितिका निवर्तमान अध्यक्ष एवम् नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्र दोलखाका प्रवक्ता पुष्कर अधिकारी, नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दाहाल, राप्रपा नेपालका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, विद्यार्थी सजिना दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।
२०३८ सालमा स्थापना भएको क्याम्पस हाल दोलखा जिल्लाकै शैक्षिक केन्द्रको रुपमा रहेको छ । कक्षा ११ देखि स्नातकोत्तर तहसम्म शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायका कक्षा सञ्चालन हुँदै आएको यस क्याम्पसमा झण्डै १५ सय विद्यार्थी अध्ययनरत छन् ।